मुग्लिन – नारायणगढ सडकमा पहिरो, यातायात अवरुद्ध

मुग्लिन- नारायणगढ सडकमा पहिरो, यातायात अवरुद्ध

५ असार २०७७ मुग्लिन : चितवन — आइतबार राति गएको पहिरोका कारण मुग्लिन नारायणगढ सडक अवरुद्ध भएको छ। नारायणगढ–मुग्लिन सडकको चारकिलो, कालीखोलामा सोमबार बिहानै पहिरो खस्दा सवारी आवागमन ठप्प भएको छ । काठमाडौं र पोखरालाई देशको पूर्वी र पश्चिम भागसँग जोड्ने मुख्य सडक बिहान ४ बजेतिर पहिरो गएर थुनिएको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले पहिरो ठूलो भएकाले सोमबार दिनभरजसो नै सडक अवरुद्ध हुने सम्भावना रहेको बताए । उनले तत्कालका लागि यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेका छन् । यो सडकमा दैनिक १० हजारसम्म गाडी गुड्छन् ।

बिहान ४ बजेतिर पहिरो गएको र अझै पनि झरी र पहिरो नथामिएकाले सडक खुलाउन सुरु भइसकेको छैन ।

मुग्लिनबाट चार किलो मिटर पश्चिम नारायणगढतर्फ कालीखोलामा असार ३ गते पनि पहिरो खसेको थियो । त्यो बेला पहिरो हटाएर दुईतर्फी गाडी चलाउन ६३ घण्टा लागेको थियो । अहिलेको पहिरो त्योभन्दा पनि ठूलो रहेको सूचना अधिकारी खनालले बताए ।

नारायणगढ–मुग्लिन सडकलाई दुई लेनको बनाउन ठाउँठाउँमा पहाड काटिएको छ । सडक विस्तारको काम सकिए पनि पहाड काटिएको ठाउँमा पहिरो जाने गरेको छ । कालीखोलामा पहिरो नियन्त्रणको काम अझै पूरा भएको छैन ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ