राजनितीसमाचार

ओलीको आरोपमा औपचारिक प्रतिक्रिया जनाउनबाट पन्छियो भारत

ओलीको आरोपमा औपचारिक प्रतिक्रिया जनाउनबाट पन्छियो भारत

१९ असार २०७७ नयाँदिल्ली : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्न षड्यन्त्र गरेको भन्दै भारतमाथि लगाएको आरोपले सत्तारूढ नेकपाभित्र ठूलै हल्लीखल्ली मच्चाए पनि भारत सरकार त्यस विषयमा औपचारिक प्रतिक्रिया जनाउन पन्छिएको छ ।

उक्त आरोपप्रति दिल्लीका मिडिया र कूटनीतिक क्षेत्रले समेत विशेष चासो देखाएका थिए । तर बिहीबार भारतको विदेश मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले जिज्ञासा राख्दा समेत प्रवक्ता अनुराग श्रीवास्तवले केही धारणा राखेनन् । बरु उनले नेपाल–भारत सम्बन्धका अन्य आयामहरूको चर्चा गरेर टारेका थिए । ‘भारत र नेपालबीच युगौं पुरानो सांस्कृतिक र सामाजिक सम्पर्कमा आधारित गहिरो मित्रवत् सम्बन्ध छ । हामी यो मित्रतालाई थप बलियो बनाउँदै लैजान प्रतिबद्ध छौं,’ उनले भने ।

प्रधानमन्त्री ओलीले मदन भण्डारी फाउन्डेसनद्वारा गत आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा आफूलाई सरकारबाट हटाउन षड्यन्त्र भइरहेको र त्यसका पछाडि भारत लागिपरेको बताएका थिए । ‘तपाईंहरूले पनि सुन्नुभएको हुनुपर्छ, हप्तापन्ध्र दिनमा प्रधानमन्त्री परिवर्तत हुँदै छ भन्ने । भारतीय मिडिया, त्यहाँका बुद्धिजीवीको कुरा सुन्नुभएकै होला । कसरी भारतको राज्य संयन्त्र अचम्मसँग सक्रिय छ,’ ओलीले भनेका थिए । उनले काठमाडौंस्थित भारतीय दूतावासको सक्रियता र होटलहरूमा भइरहेका गतिविधिका साथै दिल्लीका सञ्चारमाध्यमका सामग्रीबाट त्यो प्रस्ट भइरहेको दाबी गरेका थिए ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीको उक्त भनाइले दिल्ली र काठमाडौंमा ठूलै तरंग सिर्जना गरेको थियो । सत्तारूढ नेकपाको जारी स्थायी कमिटी बैठकभित्र यस विषयमा बाक्लै बहस भएको थियो । बैठकमा अधिकांश नेताले छिमेकीविरुद्ध बिनाआधार त्यस किसिमको टिप्पणी नगर्न ओलीलाई सचेत गराएका थिए ।

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले त बैठकमा बोल्दै ओलीले छिमेकीलाई लक्ष्य गर्दै हल्का टिप्पणी गरेको आरोप लगाउँदै प्रधानमन्त्री पदबाट राजीनामा आफूले मागेको बताएका थिए ।

ओलीको भनाइलाई भारतका प्रमुख अखबारहरूले विशेष स्थान दिएका थिए । प्रायः सबैजसो भारतीय मिडियाले ओलीको अभिव्यक्तिलाई सरकार सञ्चालनमा देखिएको कमजोरी र पार्टीभित्र चर्किंदै गएको द्वन्द्व व्यवस्थापनमा सफल नभएपछि त्यसबाट उम्कने बहानाका रूपमा अर्थ्याएका थिए । दिल्लीस्थित नेपाल मामिलाका जानकार तथा कूटनीतिज्ञहरूले पनि ओलीको पछिल्लो अभिव्यक्ति सरकार तथा पार्टीभित्र आफू कमजोर बन्दै गएपछि त्यसलाई ढाकछोप गर्ने असफल प्रयास भनी टिप्पणी गरेका थिए । यसले दिल्ली र काठमाडौंबीचको दूरी बढाउँदै सीमासम्बन्धी वार्ताको सम्भावनालाई थप धकेलेको उनीहरूको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *