राजनितीसमाचार

भारतले होइन, ओलीजी तपाइको राजीनामा मैले मागेको हो : प्रचण्ड

भारतले होइन, ओलीजी तपाइको राजीनामा मैले मागेको हो : प्रचण्ड

१६ असार २०७७ काठमाडौँ : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुपर्ने माग औपचारिकरुपमा प्रवेश भएको छ ।

मंगलबार बालुवाटारमा बसेको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, नेता माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमले प्रधानमन्त्रीले तत्कालै राजीनामा दिनुपर्ने माग गरेका हुन् ।

सोमबार मदनजयन्तीको अवसरमा आयोजित कार्यक्रममा ‘भारत आफूलाई प्रधानमन्त्रीबाट हटाउन लागेको’ भन्ने अभिव्यक्ति दिनुभएका प्रधानमन्त्री ओलीलाई नेताहरुले त्यस विषयमा स्पष्टीकरण मागेका थिए ।

प्रधानमन्त्री ओलीले स्थायी समितिमा भएका कुराहरु भारतीय मिडियामा जस्ताको तस्तै आएको सुनाउँदै भारत आफूलाई हटाउन लागेको दोहोर्‍याउनुभएको थियो ।

त्यसपछि अध्यक्ष दाहालले ‘तपाईंको राजीनामा भारतले होइन, मैले मागेको हो’ भन्दै ‘प्रधानमन्त्री र अध्यक्ष दुवै पद छाड्नोस्’ भन्नुभएको थियो ।

मंगलबारको बैठक मूलतः प्रधानमन्त्रीको सोमबारको अभिव्यक्ति र प्रधानमन्त्रीबाट पार्टीका नेताले मागेको स्पष्टीकरणमा केन्द्रित रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

त्यस्तै, प्रवक्ता श्रेष्ठले निर्वाचन आयोगमा दुई दिनअघि नेकपा एमाले नामको दल दर्ताका लागि निवेदन परेको विषयमा पनि बैठकमा छलफल गरिएको जानकारी दिनुभयो ।

तत्कालीन नेकपा एमाले र माओवादीबीच एकता भएर नेकपा गठन भइसकेपछि एमाले अस्तित्वमा नरहेको बेला नेकपा एमाले नाममा पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको हुँदा सो विषयमा बैठकमा छलफल भएको प्रवक्ता श्रेष्ठले बताउनुभएको हो ।

झापा निवासी सन्ध्या तिवारीले ‘नेकपा एमाले भन्ने दल दर्ता गरिपाऊँ’ भनी निवेदन दिएकी छन् ।

प्रधानमन्त्रीले आफूलाई त्यसबारेमा कुनै जानकारी नभएको जवाफ दिनुभएको थियो ।

मंगलबारको बैठकमा केपी शर्मा ओली, पुष्पकमल दाहाल, झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतमलगायत १२ नेताले आफ्नो धारणा राखेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

स्थायी समितिको अर्को बैठक बुधबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमै बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *