भारतले टिकटक तगायतका मोबाइल एप बन्द गरेकोमा चीनको आपत्ति

भारतले टिकटक तगायतका मोबाइल एप बन्द गरेकोमा चीनको आपत्ति

१६ असार २०७७ काठमाडौँ : बुधबार भारतले टिकटक र विच्याट लगायत ५९ वटा चिनियाँ मोबाइल एपमा प्रतिबन्ध लगाएकोमा चीनले कडा आपत्ति जनाएको छ । नयाँ दिल्ली स्थित चिनियाँ दूतावासका प्रवक्ता जि रोङले बिहीबार एक विज्ञप्ति जारी गर्दै यो प्रतिबन्धले दुई देशबीचको व्यापार सम्बन्धमा नकारात्मक असर पर्ने बताएका छन् ।

उनको विज्ञप्तिमा भारतको यो कदमलाई विभेदकारी र विश्व व्यापार संगठनको मान्यताको विरुद्ध पनि भनिएको छ । चिनियाँ मोबाइल एपले भारतको सार्वभौमिकता र आन्तरिक सुरक्षामा खतरा पैदा गरेको भन्दै भारतीय सूचना प्रविधि मन्त्रालयले ५९ वटा एपलाई प्रतिबन्ध लगाएको बताएको थियो ।

लद्दाखको गलवान क्षेत्रमा चिनियाँ सेनासँग भएको झडपमा २० भारतीय सैनिक मारिएका थिए । त्यसपछि भारत र चीनबीचको सम्बन्ध बिग्रिएको मानिन्छ । विज्ञप्तिमा भारतले ती एपले भारतीय सुरक्षाामै खतरा भएको भन्ने आरोपको पनि खण्डन गरिएको छ ।

साथै विज्ञप्तिमा भारतको यस कदमले ठूलो संख्यामा भारतीयको रोजगारी पनि गुम्ने बताइएको छ । यी एपहरु भारतीय उपभोक्तामाझ पनि निकै लोकप्रिय भएका भन्दै उपभोक्ताको रोजाइ र उपभोगको अधिकारलाई पनि यसले कुण्ठित गर्ने चीनको भनाई छ ।

चीनले एपलाई प्रतिबन्ध लगाउने निर्णय फिर्ता लिई दुई देशबीचको व्यापार सम्बन्धलाई सुमधुर बनाउन पनि आग्रह गरिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ