समाचार

एसईई नतिजा साउन १५ गतेभित्र आउँछ : राष्ट्रिय परीक्षा बोर्ड

एसईई नतिजा साउन १५ गतेभित्र आउँछ : राष्ट्रिय परीक्षा बोर्ड

१६ असार २०७७ काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले विद्यालयलाई असार २० गतेभित्र माध्यमिक शिक्षा परीक्षा (एसईई)को प्राप्तांक तालिका शिक्षा विकास तथा समन्वय इकाई (साविक जिल्ला शिक्षा कार्यालय)मा पठाउन भनेको छ ।

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले आगामी साउन १५ गतेभित्र एसईई नतिजा प्रकाशन गर्ने लक्ष्य अनुसार विद्यालयलाई ताकेता गरिएको हो ।

‘माध्यमिक शिक्षा परीक्षा कक्षा १० को विद्यार्थी मूल्यांकन नतिजा प्रकाशन तथा प्रमाणिकरण कार्यविधि, २०७७’ सबै विद्यालयले आफ्ना विद्यार्थीको मूल्यांकन गरी तालिका पठाउनु पर्नेछ ।

‘आ–आफ्नो विद्यालयको कोड राखी एक्सेल फम्र्याटमा विद्यार्थीले प्राप्त गरेको प्राप्तांक क्रमश: इन्ट्री गरी पठाउने,’ बोर्डले जारी गरेको सूचनामा छ, ‘मूल्यांकन समितिले तयार गरेको प्रमाणित प्राप्तांक तालिका (मार्क लेजर) असार २० गतेभित्र अनिवार्य रूपमा शिक्षा विकास तथा समन्वय इकाईमा बुझाउनु पर्नेछ ।’

त्यसैगरी समन्वय इकाईहरूले विद्यालयबाट प्राप्त प्राप्तांक विवरण र मूल्यांकन समितिद्वारा प्रमाणित गरी पठाएको ‘मार्क लेजर’ भिडाएर प्रयोगात्मक र सैद्धान्तिक अंकसहित असार ३० गतेभित्र परीक्षा बोर्डमा पठाइसक्नु पर्नेछ । ‘यो २०७६ सालको एसईई भएकाले चाँडो गर्नु पर्नेछ,’ बोर्डका अध्यक्ष पौडेलले भने, ‘भरसक साउन १५ एसईई नतिजा ल्याउन सक्नु पर्छ भन्ने तयारीमा छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *