भारतीय नागरिकले प्रहरीको हतियार खोसे, सशस्त्रले गोलि हान्यो

भारतीय नागरिकले प्रहरीको हतियार खोसे, सशस्त्रले गोलि हान्यो

३० जेठ २०७७ सर्लाही : सर्लाहीको पर्सा गाउँपालिकास्थित नारायणपुरको भारतसँग सीमा जोडिएको क्षेत्रमा भारतीय समूहले शुक्रबार बिहान सीमामा ड्युटीमा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण गरेर हतियार खोसेपछि स्थिति तनावपुर्ण बनेको छ ।

ड्युटीमा खटिएका एक प्रहरीको हतियारसमेत उनीहरुले खोसेर लाने क्रममा सशस्त्र प्रहरीले उनीहरुमाथि फायरिङ गरेको छ । सशस्त्र प्रहरीको फायरिङबाट दुई भारतीयलाई घुँडामुनि गोली लागेको छ भने घाइते मध्ये एकको अवस्था गम्भीर छ । सशस्त्र प्रहरीको हतियार खोस्ने भारतीयलाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको छ । हतियार खोस्ने व्यक्ति घाइते मध्ये एक हुन् ।

शुक्रबार बिहान चार जनाको समूहमा आएका भारतीय व्यापारी सामान लिएर जबर्जस्ती नेपाल छिर्न खोजेपछि सशस्त्र प्रहरीले रोके लगत्तै ती व्यापारीहरु नजिकको भारतीय गाउँमा गएर नेपाली प्रहरीले आफूमाथि दुव्र्यवहार गरेको भन्दै सयौंको संख्यामा उनीहरु सीमामा आएका थिए ।

समूहमा आएका भारतीय नागरिकले सीमामा खटिएका प्रहरीसँग रहेको हतियार खोस्न थालेपछि एकछिन झडप समेत भएको थियो । त्यस क्रममा केही प्रहरी समेत घाइते भएका छन् । भीड तितरबितर नभएपछि र प्रहरीमाथि नै जाइलागेपछि प्रहरीले स्थिति नियन्त्रणमा ल्याउन गोली प्रहार गरेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए । उनले सीमामा तनाव रहेको जनाउँदै दुई जना भरतीयलाई गोली लागेको जानकारी दिए ।

घटनालगत्तै सशस्त्र प्रहरी र नेपाल प्रहरीको उच्च अधिकारी र भारतका सीमा सुरक्षा बल घटनास्थल पुगिरहेका छन् । केही दिनअघि मात्र सर्लाहीको फेनहारामा तस्करहरुले नेपाली सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ