उदयपुरमा लकडाउन केही खुकुलो हुँदै

उदयपुरमा लकडाउन केही खुकुलो हुँदै

२४ जेठ २०७७ गाइघाट : उदयपुरमा कोरोना भाइरसको सङ्क्रमण निस्तेज भएसँगै करिब अढाई महिनादेखि जारी लकडाउनको स्वरुप परिवर्तन भएको छ । लकडाउनका कारण सर्वसाधारणको दैनिकी असहज बन्दैगएको व्यापक जनगुनासो बढेपछि स्थानीय प्रशासनले जिल्ला भित्र शुक्रबारबाट लकडाउन केही खुकुलो बनाएको हो ।

कोरोना भाइरस (कोभिड–१९) का कारण गएको चैत ११ गतेबाट लकडाउन गरिएको थियो । तर पछिल्लो पटक यही जेठ २ गते एक जना पत्रकारमा सङ्क्रमण देखिएयता नयाँ सङ्क्रमित नदेखिएपछि लकडाउनलाई खुकुलो बनाइएको हो ।

प्रशासनले शुक्रबारबाट बिहान ६ देखि ११ बजेसम्म सामाजिक दूरी कायम गर्दै दूध, मासु, तरकारी, खाद्य तथा दैनिक उपभोग्य वस्तुका पसलहरू खोल्न दिएको छ । नागरिकहरूको जनजीवनलाई केही सहज बनाउन होटेल, लज, रेस्टुरेन्ट, पार्टी प्यालेस, पार्लर, सैलुनबाहेकका खाद्य तथा दैनिक उपभोग्यवस्तु, जुत्ताचप्पल, कपडा पसल, हार्डवेयरका पसल खोल्न दिएको प्रमुख जिल्ला अधिकारी दीपकप्रसाद पहाडीले बताउनुभयो ।

विकास निर्माणका कामहरू धमाधम भइरहेकाले हार्डवेयर पसललाई समेत खोल्नु अनुमति दिइएको उहाँ बताउनुहुन्छ । आफूलाई आवश्यक पर्ने कुराहरू सर्वसाधारणले बिहान ११ बजेसम्ममा किनिसक्नुपर्ने र व्यापारीहरूले तोकिएकै समयमा कारोबार गरेर बन्द गर्नुपर्ने शर्तमा बजार खोलिएको प्रजिअ पहाडीको भनाइ छ ।

व्यापारीलाई समय पालना गराउने र उपभोक्ताहरूलाई सामाजिक दूरी, मास्क, स्यानिटाइजर प्रयोगजस्ता कुराको व्यवस्थापन त्रियुगा उद्योग वाणिज्य सङ्घले गर्ने भएकाे छ । लकडाउनको पालना भए नभएको, बजारमा कोरोनाप्रतिको सतर्कता अपनाए, नअपनाएको ’boutमा नागरिक समाज, जनप्रतिनिधि र प्रशासनले अनुगमन गर्ने गरी बजार सुचारु गरिएको हो ।

त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीले सर्वसाधारणको जनजीविकालाई केही सहज बनाउने उद्देश्यले बजार केही खुकुलो पारिएको भन्दै दैनिक ज्यालादारी मजदुर, व्यापारी र सर्वसाधारणको वृहत्तर हितलाई मध्यनजर गरी आफूहरू यस्तो निर्णय गर्न बाध्य भएको बताउनुभयो ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ