रौतहटमा भेटिए थप दुई जना कोरोना संक्रमित, नेपालमा ५४ पुग्यो
रौतहटमा भेटिए थप दुई जना कोरोना संक्रमित, नेपालमा ५४ पुग्यो
१६ वैशाख २०७७ रौतहट : रौतहटमा थप दुई जना कोरोना संक्रमित फेला परेका छन् ।
फेला परेका संक्रमित वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ ।
दुबैको परिक्षण काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको र दुवैको परीक्षणमा कोरोना संक्रमण पोजिटिभ आएको हो ।
वृन्दावन नगरपालिका भुसहाका २५ वर्षका पुरुष भारतको कोलकाताबाट फर्केर चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएका थिए । जनकपुरबाट आएको प्रादेशिक टोलीले गरेको र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) मा नतिजा नेगेटभ देखिएपछि उनलाई घर फर्काइएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि ती युवकको खोजी सुरु भएको छ ।
त्यस्तै देवाही गोनाही १ का ३५ वर्षका पुरुष हाल क्वारेन्टाइनमै रहेका छन् ।
काठमाडौंबाट गत वैशाख १२ गते आएको चार जनाको टोलीले रौतहटको ८ क्वारेन्टाइनबाट ७ महिलासहित ८३ जनाको स्वाब संकलन गरेर लगेको थियो । सोही स्वाबमध्ये दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
यसअघि रौतहटको इशनाथ नगरपालिकामा भेटिएका एक संक्रमित ठीक भएर वीरगञ्जबाट घर फर्किसकेका छन् ।
नेपालमा हालसम्म ५४ जना संक्रमित फेला परिसकेका छन् भने १६ जना उपचारपछि घर फर्किसकेका छन्।