यूरो कप एकवर्ष सर्यो, कोपा अमेरिका पनि स्थगित

५ चैत २०७६ एजेन्सी:

कोरोना भाइरस महामारीको कारण देखाउँदै यूरो कप २०२० एकवर्षका लागि रोकिएको छ । यूरोपेली फुटबल सञ्चालन गर्ने निकाय यूइएफएले मङ्गलबार प्रमुख सदस्य राष्ट्रहरुसँगको छलफलपछि यूरो २०२० रोक्ने निर्णय गरिएको हो ।

यूरोपेली फुटबल संघले जुन १२ देखि जुलाइ १२ सम्म यूरो कप फुटबल २०२० मा आयोजना गर्ने तय गरिएकोमा अब भने सन् २०२१ को ११ जुन देखि ११ जुलाईसम्म हुने निर्धारण गरिएको छ । यूरो कप एकवर्षका लागि सारिएपछि कोरोना भाइरसको संक्रमणले रोकिएको यूरोपेली लिग खेल भने अब पुरा हुन समय पाएको छ ।

यूरोपीयन च्याम्पियनशीप फुटबल प्रतियोगिताको मिति निर्धारणपछि यूरोपेली फुटबल संघलाई महिला फुटबल प्रतियोगिताको मिति व्यवस्थापन गर्नुपर्नेछ । यूरोपेली महिला च्याम्पियनशीप इंग्ल्याण्डमा सन् २०२१ को ७ जुलाइदेखि हुने पूर्वनिर्धारित छ ।

यूइएफएले १२ राष्ट्रले आयोजनाको क्रममा राष्ट्रिय सेवामा अनावश्यक दबाब नपार्न र घरेलु लिग सम्पन्न गर्न यूरो कपको पुर्नतालिका गरिएको जनाएको छ ।

यसैबीच दक्षिण अमेरिकी फुटबल संघले आयोजना गर्ने कोपा अमेरिका फुटबल प्रतियोगिता पनि स्थगित गरिएको छ । कोपा अमेरिका १२ जुनदेखि १२ जुलाइसम्म गर्ने तय गरिएको थियो । उक्त प्रतियोगिता पनि सन् २०२१ सम्मलाई स्थगित गरिएको छ ।

फिफाले विश्व स्वास्थ्य संगठनलाई कोभिड–१९ विरुद्ध लड्न एक करोड अमेरिकी डलर अनुदान दिने जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ