महोत्तरीको एक गाउँमा लगातार पाँचको मृत्यु, गाउँले आतङ्कित

महोत्तरीको एक गाउँमा लगातार पाँचको मृत्यु, गाउँले आतङ्कित

५ चैत २०७६ जलेश्वर। महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिकाको मनरा गाउँमा पछिल्लो तीन दिनमा पाँचको मृत्यु भएको छ । नगरपालिका–१ साविकको मनरा गाउँका ५० वर्षीय ब्रह्मदेव मण्डल, ५५ वर्षीय राघो मण्डल, ४५ वर्षीय सुखचन्द्र मण्डल, ५० वर्षीय विकास मण्डल र ५५ वर्षीय गङ्गा सिंहको मृत्यु भएको वडा नम्बर १ का वडाध्यक्ष शशीभूषण चौधरीले बताउनुभयो ।

उहाँका अनुसार गत मङ्गलबारदेखि अचानक उनीहरु बिरामी हुँदै र उपचार हुँदाहुँदै पनि सिकिस्त अवस्थामा पुगेर एकपछि अर्को गरी पाँचै जनाको मृत्यु भएको हो । एक्कासि बिरामी भएर भटाभट भएको उनीहरुको मृत्युले पूरै मनरा गाउँवासी आतङ्कित भएका छन् । उनीहरुको मृत्युको कारणलाई लिएर विभिन्न अड्कलबाजी भइरहेको छ ।

यो पनि पढ्नुहोस:-  भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुग्यो

उनीहरुको मृत्यु विषाक्त मदिरा सेवनबाट भएको वडाध्यक्ष चौधरीको जिकिर छ । उहाँका अनुसार उपचारमा संलग्न चिकित्सकले उनीहरुको मृत्यु मदिरा सेवनबाट भएको बताएका छन् । महोत्तरीका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले उनीहरुको मृत्यु मदिरा सेवनबाट नभई अर्कै कारणले भएको हुनसक्ने आशङ्का गर्नुभएको छ ।

वास्तविकता जे रहे पनि एउटै गाउँमा तीन दिनभित्र पाँच जनाको मृत्यु भएपछि गाउँले त्रसित छन् भने डरले गर्दा सबै आआफ्नै घरमा सीमित हुन थालेको स्थानीयवासी रवीन्द्र भगतले बताउनुभयो ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ