कालोबजारी गर्न लुकाई राखेको ६ लाख थान मास्क बरामद

कालोबजारी गर्न लुकाई राखेको ६ लाख थान मास्क बरामद

३ चैत २०७६ काठमाडौं : विश्वभर कोरोना भाइरस माहामारीको रुप्मफैलिएसंगै बजारमा देखिएको मास्क अभावको बिकराल रुप देखिरहादा नेपाल प्रहरीले काठमाडौंको सतुंगलबाट करिब ६ लाख थान सर्जिकल मास्क बरामद गरेको छ । चन्द्रागिरि नगरपालिका–१० विष्णुदेवीस्थित एक गोदाममा राखिएका मास्क प्रहरीले बरामद गरेको हो ।

यसअघि कपनबाट १ लाख ६८ हजार थान र डल्लुबाट ७८ हजार थान मास्क बरामद भएको थियो । शनिबारयता काठमाडौंबाट आठ लाख ४० हजार थान मास्क प्रहरीले बरामद गरिसकेको छ ।

आइतबार साँझ सतुंगलका रोहित श्रेष्ठको घरको गोदाममा लुकाएर राखिएको मास्क भेटिएपछि स्थानीय प्रशासनले सिलबन्दी गरेको थियो । सोमबार बिहान खोलेर गणना गर्दा १७५ वटा बोरामा ६ लाख बढी मास्क रहेको थाहा भएको थियो ।

यो पनि पढ्नुहोस:-  एउटै जहाजमा नेपाल आएका ३ जनामा कोरोना भेटियो

यसअघि प्रहरीले कपनको मिलन चोकबाट एक लाख ६८ हजार थान मास्कसहित ६ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा एक जना भारतीय नागरिकसमेत छन् ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका २३ घर भएका ३४ वर्षीय सुरज गोयल, भारतको राजस्थान घर भई बागबजार बस्ने २७ वर्षीय सुवास महेश्वरी, कपनमा पोते पसल सन्चालन गर्दै आएका २६ वर्षीय अजिम बबस मिया र मिलनचोक प्लास्टिक सप्लायर्सका २४ वर्षीय सञ्जन कुमार रेग्मी छन् । कपनबाट प्रहरीले बा ७ च ७२६३ नम्बरको गाडी, गाडी चालक र हेल्परलाई समेत नियन्त्रणमा लिएको छ ।

डल्लु, कपन र सतुंगलमा मास्क लुकाएर राख्नेहरुबीच सञ्जाल रहेको आशंकामा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस:-  भाइरसको नाम 'कोरोना' किन राखियो ? यस्तो छ तथ्य

नेपालमा पनि कोरोना भाइरस संक्रमणको त्रास बढेसँगै बजारमा मास्क र सेनिटाइजरको अभाव भएको छ । कालोबजारी गर्नेहरुले ती सामान लुकाएर कृत्रिम अभाव सिर्जना गरेको अनुसन्धानमा संलग्न अधिकारीहरु बताउँछन् ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ