सरकारमा शासन गर्ने क्षमता नै छैन: काँग्रेस

सरकारमा शासन गर्ने क्षमता नै छैन: काँग्रेस

५ फागुन २०७६ ललितपुर : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकारको दुई वर्षको कार्यकालको समीक्षा गर्दै अनुकूल वातावरण भए पनि समृद्धिको दिशामा फड्को मार्ने गुरु योजना, इच्छाशक्ति र शासकीय योग्यताको अभाव देखिएको निचोड निकालेको छ ।

नेकपाबाट निर्वाचित प्रधानमन्त्री के.पी. शर्मा ओलीले सरकारको दुई वर्षको कार्य प्रगतिको विस्तृत विवरण शनिबार प्रतिनिधिसभामार्फत सार्वजनिक गरेको भोलिपल्ट पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसले आठ दृष्टिकोणबाट पार्टीको धारणा सार्वजनिक गरेको छ ।

सरकार आफ्नो कार्यकालको ४० प्रतिशत अवधि पूरा गर्दा सरकारका सामु जनअपेक्षा अनुरुप कार्य गर्न तीन अनुकूल परिस्थिति रहेको ठहर कांग्रेसको छ । शान्ति स्थापना, संविधान निर्माण र तीन तहको निर्वाचनमार्फत् मुलुकमा निर्मित तुलनात्मक सहज राजनीतिक वातावरण तयार भएको, नेकपासँग रहेको बहुमत एवम् संसद्मा रहेको तेस्रो दलको सरकारमा सहभागितापछि एक समयसम्म निर्मित दुई तिहाइ कायम रहेको र तुलनात्मक रुपले जिम्मेवार र शीलन प्रतिपक्षको उपस्थिति रहेको छ ।

कांग्रेसले भनेको छ, “यस्तो पृष्ठभूमि र परिस्थितिको सरकारले दुई वर्षको अवधिमा दृढ इच्छाशक्ति र नवीन गतिका साथ कार्य गर्न सक्दथ्यो तर सहज समयको सदुपयोग सरकारले परिणामुखी ढंगले विल्कुलै गर्न सकेन बरु अधिनायकवाद उन्मुख आकांक्षाका कारण अनुकूल परिस्थितिलाई स्वयं आफैँले क्रमशः प्रतिकूल बनायो ।”

यो पनि पढ्नुहोस:-  नेपाल रिसाएपछी भारतले गर्यो सीमामा रोकिएका नेपालीको ब्यबस्थापन

प्रवक्ता शर्माका अनुसार, सरकारले कृषि, सडक, विद्युत, प्रविधिदेखि गरिबी परिचयपत्र वितरणसम्मका दुई वर्षे लक्ष्यले परिणाम हासिल गर्ने सकेनन् । सीमा लगायत सम्पूर्ण राष्ट्रिय एकता हुँदा पनि प्रभावकारी अग्रसरता सरकारले राख्न सकेन । पछिल्लो समय महाकालीवारि सडक खनिँदै गरेको समाचार बाहिर आएको छ तर सरकारको प्रतिक्रियासम्म आएको छैन ।

वर्तमान सरकार क्रमशः अनुदार लोकतन्त्रको बाटोमा अग्रसर रहेको आरोप लगाउँदै कांग्रेसले भनेको छ, राष्ट्रिय सुरक्षा परिषद्, मिडिया काउन्सिल, नेपाल विशेष सेवा गठन र संचालन, सूचना प्रविधि र मानव अधिकार आयोगसम्बन्धी विधेयकमा सरकारमा अवान्छित शक्ति अभिवृद्धि एवम् स्थापित संस्था र नागरिकको अधिकारमा कटौती गर्न लागिएको छ ।

सरकारले संविधानको अपनत्व बढाउन नसकेको र प्रदेशहरुलाई केन्द्रको कमजोर शाखाको रुपमा अगाडि बढाउन लागेको तर्क पनि अगाडि सारेको छ । संघीयताको मर्मविपरीत एकातर्फ प्रधानमन्त्री कार्यालयमा शक्तिको केन्द्रीकरण अनि अर्कोतर्फ प्रदेश सरकारहरुलाई अधिकार, बजेट र कर्मचारी प्रबन्धमा सहयोग नगरेको बरु प्रदेशको नामकरण र राजधानी चयनमा हस्तक्षेप गरेको धारणा पनि कांग्रेसको छ ।

सरकारले रोजगारी सिर्जना गर्ने खालका एउटै ठूला आयोजना ल्याउन नसकेको, पहिले नै सम्झौता भएका र प्रक्रिया अगाडि बढाएका योजनामा रमाएको, देशको आर्थिक समृद्धिमा ठूलो सहयोग पुग्ने अमेरिकी सहयोग एमसीसीलाई सदनबाट पारित गर्न आलटाल गरेको भन्दै प्रवक्ता शर्माले सरकारको आलोचना गर्नुभयो ।

यो पनि पढ्नुहोस:-  कोरोना संक्रमित ४७ हजार २७३ को मृत्यु नौ लाख ३८ हजार सङक्रमित

शान्ति सुरक्षाको कोणबाट पनि सरकार कमजोर रहेको भन्दै कांग्रेसले विगत एक वर्षको अवधिसम्ममा ४३४ हत्या र एक हजार ७५ वटा बलात्कारको घटनाका मुद्दा दर्ता भएको तथ्याङ्क पनि सार्वजनिक गरेको छ । दुई वर्षको अवधिमा नेकपाको सरकारले सुशासनको कोणबाट नवीनता र समृद्धिका लागि नवीन परियोजनाहरुको विधिवत थालनी गर्न नसकेको छ भनाइ कांग्रेसको छ ।

विगतका सरकारहरुकै पालामा शुरु गरिएका केही परियोजनामा केही प्रगति भएको बाहेक यो अवधिमा समृद्धिको दिशामा फड्को मार्ने ढंगले सरकारले गति प्रस्तुत गर्न नसकेको ठहर कांग्रेसको छ । पूँजीगत बजेट २० प्रतिशतभन्दा तलको आँकडामा मात्रै खर्च हुन सकेको स्थितिले प्रष्ट ढंगले पुष्टि गर्दछ— विकासको कार्यमा समयानुकूल तीव्रता हुन सकेको छैन ।

कम्युनिष्ट पार्टीको सरकार बन्नु पूर्वको उच्चतम विन्दुबाट नेप्से निकै ओह्रालोमा रहेको, दुई वर्षको अवधिमा सरकारले लगानीकर्ताहरुको मनोबल उच्च बनाउने कर्म गर्न सकेन । नियन्त्रणमुखी कानून (जस्तो वाफिया) ले स्वदेशी लगानीकर्तालाई थप दवावमा राख्ने देखिन्छ भन्दै कांग्रेसले विदेशी लगानीलाई प्रोत्साहित गर्न अत्यावश्यक कामहरु अगाडि नबढाएको कांग्रेसको आरोप छ ।
सदाचार र भ्रष्टाचारको कोणबाट पनि सरकारले दुई वर्षमा देशले सार्थक प्रगति हासिल गर्न सकेन भन्दै कांग्रेसले सरकारले सदाचार नीतिप्रति आवश्यक गम्भीरताभन्दा उदासिनता प्रकट गरेको धारणा राखेको छ । मेलाम्ची आयोजना, गोकर्ण रिर्सोटको लिज प्रकरण, वाइड बडी लगायत हवाइजहाजहरुको खरीदजस्ता विषयलाई कांग्रेसले उठाएको छ ।

यो पनि पढ्नुहोस:-  भारतको हरियाणाबाट साइकल चढेर १५ दिनमा नेपाल, लुकेर सिमा वारी

ललिता निवास प्रकरणमा कांग्रेस उपसभापति विजयकुमार गच्छदारमाथि नेपाल सरकारको प्रभाव र दबाबमा ख्तियारले मुद्दा दायर गरेको आरोप पनि कांग्रेसको छ । ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ सुन्दा कर्णप्रिय भए पनि जनताले तिरेको राजस्व पार्टीका कार्यकर्तालाई बाँडेर सडकका गाई धपाउने, नाली सफा गर्ने र झार उखेल्ने आदि कामका लागि खर्च भएको छ भन्दै सरकारले विश्व बैंकबाट १३ अर्ब ऋण लिने सम्झौता गर्नु न त वेरोजगार युवाको जीवनको हितमा हुँदैछ न त देशको दीर्घकालीन हितमा छ भनी प्रश्न उठाएको छ ।

सांस्कृतिक रुपान्तरणको कोणबाट पनि सरकार सफल नभएको कांग्रेसको भनाइ छ । पत्रकार सम्मेलनमा पत्रकारहरुले प्रमुख प्रतिपक्षी दलले सदनमा जनताका आवाज उठाउन नसकेको र कांग्रेस पार्टी नै तहसनहस भएको छ नि भनी प्रश्न गरेका थिए । त्यसको जवाफमा प्रवक्ता शर्माले अब कांग्रेस शालीन र प्रखरता साथ अगाडि बढ्ने जवाफ दिनुभयो ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ