पत्रपत्रिकाराजनिती

ओलीको आक्रोश : ‘तपाइहरु भेला गर्दै हिँड्नुहुन्छ आफै सभामुख छान्नुहोस’

ओलीको आक्रोश : ‘तपाइहरु भेला गर्दै हिँड्नुहुन्छ आफै सभामुख छान्नुहोस’

२८ पुस २०७६ काठमाडौँ : पछिल्लो समय सभामुख चयनका बिषयमा नेकपा भित्रै उब्जिएको चिसोपन सडकमै देखिन थालेको छ। नेकपामै पनि पुर्वएमाले र पुर्वमाओबादीबीच सभामुख को बनाउने भन्ने बिषयमा उब्जिएको बिबाद सतहमै आउन थालेको हो। यस अघि सभामुख पुर्व माओबादीबाट भएकोले अब पनि उनीहरुलेनै पाउनुपर्ने अडान लिएका छन् भने यता उपसभामुख रहेकी शिवमाया तुम्बाहाङ्फेले सभामुख पद आफुले पाउनुपर्ने अडान राख्दै राजिनामा नगर्ने बताएकी छिन।

सभामुख चयनका बिषयमा प्रधानमन्त्री केपी शर्मा ओली यति रुष्ट बने कि उनि सनिबार भएको सचिबालय बैठकमै उपस्थित भएनन्।

नयाँ सभामुख चयनका लागि उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पहिले राजीनामा दिनुपर्ने निष्कर्ष उक्त भेलाले निकालेको थियो । सचिवालय सदस्य वामदेव गौतमको निवास भैंसेपाटीमा गत बुधबार भएको भेलामा अध्यक्ष दाहालसहित नेताहरू झलनाथ खनाल, माधव नेपाल, गौतम र नारायणकाजी श्रेष्ठ सहभागी थिए ।

उक्त भेलापछि प्रधानमन्त्री ओली रुष्ट बनेको र सभामुख चयनबारेको छलफलमा सहभागी हुनै नचाहेको उनीनिकट स्रोतको भनाइ छ । ‘तपाईंहरू नै बैठक गर्दै हिँडिरहनुभएको छ, कसले के गर्ने निर्णय पनि गरिरहनुहुन्छ, आफैं मिलाउनुस् न,’ ओलीले भैंसेपाटी भेला गर्ने पक्षलाई दिएको जवाफ उद्धृत गर्दै स्रोतले भन्यो । स्रोतका अनुसार उनले सभामुख चयनका विषयमा तत्काल थप कुरा गर्नै चाहेका छैनन् । यही कारण शनिबारको सचिवालय बैठकमा उनी उपस्थित भएनन् । आइतबार अर्का अध्यक्ष दाहाल, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल र उपसभामुख तुम्बाहाङ्फेबीच भएको छलफलमा उपसभामुखलाई राजीनामा गराउने विषयमा पनि उनी मौन रहे ।

तुम्बाहाङ्फेले भने आफूलाई राजीनामा दिन पार्टीले निर्देशन दिन नसक्ने भन्दै राजीनामा माग्नुको कारण स्पष्ट पार्न चुनौती दिएकी थिइन् । जवाफमा दाहालले बाहिर सञ्चारमाध्यममा प्रचार भएजस्तो राजीनामा गराउने भन्ने निर्णय सचिवालयले नगरेको बताएका थिए । ‘हामीले सभामुखमा नेकपाले उम्मेदवारी दिने निर्णय गरेको जानकारी उपसभामुखलाई गराउने निर्णय गरेका थियौं तर सञ्चारमाध्यममा अलि बेग्लै ढंगले सम्प्रेषण भएछ,’ दाहालको भनाइ उद्धृत गर्दै तुम्बाहाङ्फेले भनिन् । शनिबारको सचिवालय बैठकले तुम्बाहाङ्फेलाई उपसभामुखबाट राजीनामा गर्न लगाउने निर्णय गरेको थियो । बैठकपछि प्रवक्ता श्रेष्ठले भनेका थिए, ‘हाम्रो पार्टीले एउटा निर्णय गरेको छ, जसअनुसार रिक्त सभामुख पदमा पार्टीले उम्मेदवारी दिने र त्यस प्रयोजनका लागि उपसभामुख शिवमाया तुम्बाहाङ्फेले उपसभामुखबाट राजीनामा दिने ।’ यो बैठकमा प्रधानमन्त्री ओली उपस्थित थिएनन्, निर्णयको भाषा कस्तो बनाउने भन्ने विषयमा समेत सदस्यहरूबीच विवाद भएको थियो । कान्तिपुर दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *