राजनितीसमाचार

अवैध गिट्टीबालुवा निकाल्ने बिरुद्ध लड्दै आएका युवकको हत्या

अवैध गिट्टीबालुवा निकाल्ने बिरुद्ध लड्दै आएका युवकको हत्या

२५ पौष २०७६ धनुषा : अवैध गिट्टीबालुवा निकाल्ने बिरुद्ध लड्दै आएका युवकको टिपरले किचेर हत्या गरिएको छ। अवैध रुपमा नदीबाट गिट्टीबालुवाको उत्खनन गर्ने एक माफिया समूहले धनुषाको मिथिला नगरपालिकामा शुक्रबार बिहान एक युवकको हत्या गरेको हो ।

औरही खोलामा अवैध गिट्टीबालुवा उत्खनन विरोध गर्दै आएका २४ वर्षीय दिलीपकुमार महतोलाई बिहान मर्निङ वाक गएका बेला नदीमै टिपरले किचेर हत्या गरेको हो ।

महतोले मिथिला नगरपालिका–५ श्रीपुरमा रहेको घरनजिकैको नदीमा भइरहेको अवैध उत्खननको विरोध गर्न पुग्दा ज्यान गुमाउनुपर्यो । उनलाई माफियाहरुले टिपरले किचेर हत्या गरे । घटनापछि धनुषा तनावग्रस्त बनेको छ ।

महतोलाई जबर्जस्ती समाएर ना ७ ख ६४१३ नम्बरका टिपर चालकले किचेका थिए। घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले बताए।

साथीसँग मर्निङवाक गएका बेला महतोको हत्या भएको स्थानीयले बताए। टिपर र चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ।

हत्या गरेर टिपरले किचेको परिवारको आरोप

धनुषाको मिथिला नगरपालिकामा टिपरको ठक्करबाट मृत्यु भएका युवकको परिवारले क्रसर उद्योगीले हत्या गरेको आरोप लगाएका छन् ।

गाउँमा पटक–पटक खोला उत्खनन बन्द गर्नुपर्ने चर्काे आवाज उठाएका दिलिपकुमार महतो क्रसर उद्योगीको निशानामा परेका थिए ।

मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम आएका परिवारजनले क्रसर उद्योगीले हत्या गरेको बताएका छन् । पहिला हत्या गरेको अनि त्यसपछि टिपरले किचेको मृतकको परिवारजनको आशंका छ । ‘पहिला हत्या गरेको छ, अनि त्यसपछि उनको शरीरमा टिपर चलाइएको छ’ मृतकका काकाको छोरा वीरेन्द्रले भने, ‘यसमा प्रहरीको पनि संलग्नता रहेको आभास हामीले पाएका छौं ।’

वीरेन्द्रले बिहीबार मात्रै केही व्यक्तिले खोलामा जाने जोकोहीलाई पनि मार्ने बोलिरहेको जानकारी आफूले पाएको बताए । ‘मैले त्यो कुरालाई सामान्य रुपमा लिएको थिएँ’ उनले भने, ‘तर आफ्नै भाइको हत्या भयो ।’

प्रहरीले घटनास्थलको मुचुल्कासमेत नउठाई शव परीक्षणका लागि ल्याएपछि आफूहरुले प्रहरीको पनि संलग्नता रहेको महसुस भएको उनले सुनाए । शव रहेको गाडीमा आफूहरुलाई चढ्न नदिनु, मुचुल्का नउठाउनु, मोडल हस्पिटल लैजाने भनेर प्रादेशिक अस्पताल ल्याउनुमा प्रहरीको पनि संलग्नता छ’ उनले भने, ‘हामीलाई न्याय चाहियो ।’

१० राउण्ड अश्रु ग्यास प्रहार

घटनाको विरोधमा स्थानीयहरुले पूर्व पश्चिम राजमार्ग अवरुद्व गरेपछि त्यसलाई खोलाउन प्रहरीले बल प्रयोग गरेको छ । चक्काजाम खुलाउन १० राउण्ड अश्रु ग्यास प्रहरीले प्रहार गरेको छ । अश्रुग्यास हानेर प्रदर्शनकारीलाई हटाएपछि राजमार्ग खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *