राजनितीसमाचार

सभामुखको विवाद टुङ्ग्याउदै नेकपा

सभामुखको विवाद टुङ्ग्याउदै नेकपा

३ माघ २०७६ काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा लामो समयदेखि रहेको सभामुख बिबाद टुंगिने अवस्थामा पुगेको छ। नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सभामुख निर्वाचनलगायत विषयमा छलफल भएको छ ।
सभामुख निर्वाचनको विषयमा सकारात्मक कुराकानी भएको र संसद् बैठक बस्नुअघि टुङ्गो लगाउने सहमति भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको छलफलमा वार्ता सकारात्मक भएको र शुक्रबारसम्म सभामुखको विषयमा टुङ्गो लगाउने सहमति भएको हो । प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच सभामुख चयनका विषयमा जारी गतिरोधलाई चाँडै निकास दिने सहमति भएको सचिवालयले जनाएको छ । सभामुख चयनका विषयमा अध्यक्षद्वय ओली र प्रचण्डबीच आ–आफ्नै अडान हुँदा संसद्को बैठक अवरुद्ध भएको हो ।

नेकपाले सभामुखको विषय टुङ्गो नलगाएका कारण संसद्को बैठक तीनपटक सूचना टाँसेर सारिएको छ । पुस ११, १६ र २७ गते बोलाएको बैठक सभामुखका कारण सर्दै आइरहेको छ । माघ ६ गतेका लागि संसद् अधिवेशन बोलाइएको छ ।

सभामुख चयनका लागि बाटो खोलिदिन नेकपा सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन आग्रह गरेको छ तर उपसभामुख तुम्बाहाङ्फेले सभामुख को बन्ने निश्चित भएपछि मात्र आफूले राजीनामाबारे सोच्ने नेकपाका शीर्ष नेतालाई जानकारी दिइसक्नुभएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *