स्वास्थ्य टिप्स: बर्ड फ्लु के हो यसका लक्षण र बच्ने उपाय ?

स्वास्थ्य टिप्स: बर्ड फ्लु के हो यसका लक्षण र बच्ने उपाय ?

स्वास्थ्य टिप्स: बर्ड फ्लु के हो यसका लक्षण र बच्ने उपाय ?

२० बैशाख २०७६ : विश्व भर महामारीका रुपमा फैलिएको पन्छी बाट मानिसमा सर्ने प्राण घातक रोग बर्ड फ्लुले नेपालमा पानि महामारीको रुप लिन सुरु गरिसकेको छ । यो पक्षीबाट सर्ने रुघाजस्तो एकप्रकारको रोग हो । बर्ड फ्लुबाट नेपालमा पहिलो पटक एक २१ वर्षीय किशोरको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।

बिहीबार स्वास्थ्य सचिव डाक्टर पुष्पा चौधरीले स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत् २१ वर्षका युवकको बर्ड फ्लुका कारण मृत्यु भएको बताएकी हुन्।

चैत १५ गते उनको मृत्यु भए पनि आज बल्ल बर्ड फ्लुकै कारण उनको मृत्यु भएको सरकारले पुष्टि गरेको हो।

चैत्र १० गते खोकी र ज्वरोका कारण अस्पताल भर्ना भएका ती किशोरको पाँच दिनपछि श्वासप्रश्वासको समस्याका कारण मृत्यु भएको मन्त्रालयले बताएको छ।

तर हत्तपत्त यो भाइरसको सङ्क्रमणले मानिसको ज्यानै लिन नसक्ने भन्दै कतिपयले शङ्का समेत व्यक्त गरेका छन्।

त्यसको जवाफमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आफूहरू बर्ड फ्लुकै कारण ती बिरामीको मृत्यु भएको भन्नेमा आफूहरू ढुक्क रहेको जनाएको छ।

अस्पताल भर्ना भएपछि बिरामीमा इन्फ्लुएन्जा रोगको सङ्क्रमण भएको शंका लागि चिकित्सकहरूले घाँटीको र्‍याल परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएका थिए।

त्यसको अनुसन्धानमा ती बिरामीको घाँटीको र्‍याल परीक्षण गर्दा भाइरसको प्रकार यकिन गर्न नेपालमा सम्भव नभएपछि त्यसको परीक्षणका लागि विश्व स्वास्थ्य संगठनको कोल्याबोरेटिङ सेन्टर फर इन्फ्लुएन्जा जापान पठाइएको मन्त्रालयले जनाएको छ।

सन् १९९६ मा भाइरस पत्ता लागेपछि विश्व स्वास्थ्य सङ्गठनकै तथ्याङ्क अनुसार सन् २००३ देखि हालसम्म विश्वभरी जम्मा ८६० जना व्यक्तिहरूमा यो भाइरसको संक्रमण भएको बताइन्छ।

ती मध्ये ४५४ अर्थात् आधा जति बिरामीहरूको मृत्यु भएको तथ्याङ्कले देखाउँछ।

धेरैजसो पक्षीहरूमा सङ्क्रमण हुने यो इन्फ्लुएन्जा ए एचफाइभएनवान भाइरस कहिलेकाहीँ मानिसमा समेत संक्रमण हुने गर्दछ।

तर मृत्यु भने एकदमै कम हुने गरेको यही भाइरसले नै नेपालमा भएको हो भन्नेमा कतिपयले शङ्कासमेत व्यक्त गरेका छन्।

तर आफूहरूले अन्तर्राष्ट्रिय स्तरको प्रयोगशालाबाट पुष्टि गरेर मात्रै सार्वजनिक गरेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डाक्टर रुना झाले बताइन्।

उनले बीबीसीसँग भनिन्, “त्यो नमुनामा यहाँ शङ्का भएपछि जापानमा त्यसमा हरेक तरिकाबाट परीक्षण गरिएको छ। त्यो परीक्षणमा भाइरसमात्रै पत्ता लागेन कि त्यसको जेनेटिक नेचर कस्तो छ त्यो समेत त्यहाँ पुष्टि गरेर मात्रै हामीले यो विषयलाई सार्वजनिक गरेका हौं।”

न्याश्‍नल इन्फ्लुएन्जा सेन्टर सञ्चालनमा आएको १० वर्ष भइसकेको र यसको इतिहासमै यो पहिलोपटक भएको पनि उनले बताइन्।

नेपालमा पहिलोपटक यो भाइरसबाट मानिसको ज्यान गएको विषयमा आजै अन्तर्राष्ट्रिय स्तरमा जानकारीसमेत गराइसकेको स्वास्थ्यमन्त्रालयले जनाएको छ।

‘थप सङ्क्रमण छैन’
मन्त्रालयले ‘त्यसपछिको नियमित निगरानीका क्रममा हालसम्म उक्त भाइरसको सङ्क्रमण नदेखिएको’ बताएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर विवेककुमार लालले भने, “हामीले अहिलेसम्मका परीक्षणमा अरू त्यस्ता केसहरू भेट्याएका छैनौं। र, अझै ढुक्कको स्थिति बनाउनका लागि हामी थप अनुसन्धान गरिरहेका छौं।”

उनले यो घटनाबाट सचेत हुनुपर्ने तर आत्तिहाल्नु नपर्ने बताएका छन्।

लक्षण

चिकित्सकहरूका अनुसार मानिसलाई अरू फ्लु लाग्दा देखिने लक्षणजस्तै यसका लक्षण पनि हुन्छन्। सङ्क्रमण भएपछि देखिने लक्षणहरू निम्न प्रकारका छन्:

-खोकी लाग्छ, ज्वरो आउँछ
-टाउको दुख्छ, जाडो लाग्छ
-हाछ्युँ आउँछ
-मांसपेशीमा पीडा हुन्छ
-नाकबाट पानी बग्छ वा नाक थुनिन्छ
-लक्षणहरू अचानक पनि देखिन सक्छन्। सामान्यतया भाइरसको सम्पर्कमा आएको तीनदेखि पाँच दिनमा लक्षणहरू देखिने चिकित्सकहरू बताउँछन्।

बच्ने उपाय

खासगरी पशुपक्षी र पशुपक्षीजन्य उत्पादन तथा तिनको ओसारपसार लगायतका काममा संलग्न हुनेहरूले विशेष ध्यान दिनुपर्ने चिकित्सकहरू बताउँछन्।

तर त्यसको अर्थ मासु, अण्डा एवम् पशुपक्षीजन्य उत्पादन उपभोग गर्नेहरूले ख्याल गर्नुपर्दैन भन्ने होइन। उनीहरूले निम्न कुराहरूमा ध्यान दिनुपर्दछ:

कुखुराको मासु राम्ररी पकाएर खानुपर्छ, ७० डिग्री सेल्सियसमा मासु पकाउँदा भाइरस मर्ने भएकोले आत्तिनु पर्दैन । काँचो मासु चलाउने व्यक्तिले पनि ध्यान दिनुपर्छ, कहाँबाट मासु ल्याइएको हो भन्ने कुरा थाहा पाए झन् जाती हुन्छ ।

चिकित्सकहरूका अनुसार निम्न कुरामा ध्यान दिन सके बर्ड फ्लूबाट बच्न सकिन्छ:

-पोल्ट्री फर्ममा काम गर्नेले जैविक सुरक्षामा ध्यान दिनुपर्छ
-खोरमा काम गर्दा आवश्यक मास्क, पन्जा तथा बुट लगाउनुपर्छ
-काम सकेर निस्किने बेला राम्ररी सरसफाइ गरेर मात्रै जानुपर्छ
-चल्ला र दाना खरिदकर्ताले विक्री गर्ने स्वास्थ्य प्रमाणित गराए वा नगराएको हेर्नुपर्छ
-व्यवसायीले दाना लगायतका सामग्री सँगसँगै कुखुराको ओसारपसार गर्नु हुँदैन
-बर्ड फ्लु नदेखिएका ठाउँबाट मात्रै पशुपक्षी तथा तिनका उत्पादन आयात गर्नुपर्छ
-फर्ममा कुखुरा वा चल्ला मर्न थालेमा सम्बन्धित निकायलाई तत्काल खबर गर्नुपर्छ
-मरेका कुखुरा चलाउँदा विशेष ध्यान दिनुपर्छ, राम्रोसँग तिनको व्यवस्थापन गर्नुपर्छ
-फर्ममा बर्ड फ्लु देखिएमा काम गर्नेले स्वास्थ्य परीक्षण गराउनुपर्छ
-सङ्क्रमित कुखुराको मासु बजारमा आउन नदिनेतर्फ ध्यान दिनुपर्छ

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...