लुट–२ का निर्माता २ करोड ६० लाख ६३ हजार नक्कली नेपाली रुपैयाँसहित पक्राउ,निर्माता संघ वाग्लेको पक्षमा

३ जेस्ठ २०७५ काठमाडौं :लुट–२ का निर्माता २ करोड ६० लाख ६३ हजार नक्कली नेपाली रुपैयाँसहित पक्राउ परेका छन् । ‘हाकु काले’को समूहले बैंक लुटेसँगै कहानी अन्त्य भएको फिल्म थियो ‘लुट’ । चलचित्र निर्माता तथा वितरण माधव वाग्लेसहित ६ जनालाई प्रहरीले ठूलो परिमाणमा नक्कली नोटसहित नियन्त्रणमा लिएको छ । काठमाडौँको कमलपोखरी, ललितपुरको लुभु, चारढुङ्गे, चावहिल, बागबजार र गोंगबुबाट प्रहरीले उनीहरुलाई दुई करोड ६० लाख ६३ हजार रुपैयाँसहित पक्राउ गरेको हो ।

प्रहरीले फिल्म निर्माता वाग्लेको कोठाबाठ १ हजार दरको २ करोड ५२ लाख बराबरको नक्कली नोट बरामद गरेको छ । वाग्ले चारढुङ्गे स्थित प्रिनसेस मुभिज प्रालिका सञ्चालक हुन् । उनी चलचित्र लुट, लुट–२, छड्के, रेशम फिलिलीलगायत चलचित्रका निर्माता तथा वितरक हुन् । प्रहरीले वाग्लेसहित महेन्द्र वोगटी, सुजित तामाङ, साजन तामाङ, प्रकाश सुवेदी, विकेश नापितलाई पनि पक्राउ गरेको छ ।

चलचित्र निर्माता तथा वितरण माधव वाग्ले

जेठ १ गते सुर्खेत घर भएका महेन्द्र बोगटीले काठमाडौँस्थित नयाँ बसपार्क नजिकै रहेको सुमधुर क्याफे तथा खाजाघरमा खाजा खाएर बिल तिर्दा नक्कली नोट दिए । नक्कली नोट दिएको चाल पाएपछि क्याफे सञ्चालकले तत्काल प्रहरीलाई खवर गरे ।

तत्काल गोंगबु प्रभागबाट खटिएको प्रहरी टोलीले बोगटीलाई सोधपुछ तथा खानतलासी गर्दा उनको साथबाट १ लाख २० हजार नक्कली नेपाली रूपैयाँ फेला पार्‍यो । बोगटीले दिएको सूचनाका आधारमा सिन्धुलीका सुजित तामाङ र साजन तामाङको ललितपुरको कोठामा खानतलासी गर्दा प्रहरीले सात लाख ४३ हजार बराबरको नक्कली नोट बरामत गर्‍यो ।

त्यसपछि बागबजारस्थित नवज्योती प्रिन्टिङ प्रेसका सञ्चालक ३६ वर्षीय प्रकाश सुवेदीले भोलेबाबा प्रिन्टिङ प्रेसका सञ्चालक ३९ वर्षीय विकेश नापितलाई छाप्न दिएको खुल्यो । सबै नक्कली नोट नापितको छापामा छापिएको थियो । प्रहरीले नक्कली नोट बनाउन प्रयोग गरेको ४ थान प्लेटसमेत बरामद गरेको छ ।

निर्माता वाग्लेले आफूले फिल्मको सुटिङका लागि नक्कली नोट छापेको बताएका छन् । केही नोटमा ‘फिल्म प्रयोजनका लागि’ भनेर समेत लेखिएको छ । नक्कली नोटलाई उनीहरुले विभिन्न होटलमा बिल तिर्न, जुवा, लागुऔषध कारोबारी तथा यौनकर्मीको प्रयोग गरेर बजारसम्म पु¥याउने गरेको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका उनीहरुलाई १० वर्षसम्म कैद सजाय हुने बताइएको छ ।चलचित्र निर्माता माधव वाग्लेलाई प्रहरीले बुधबार पक्राउ गरी सार्वजनिक गरेपछि निर्माता संघ त्यसको विरोधमा उत्रिएको छ । चलचित्र निर्माता संघका महासचिव रोज राणाले जारी गरेको विज्ञप्तिमा वाग्लेलाई फँसाइएको बताइएको छ। हाल छायांकनरत फिल्म ‘चङ्गा चेट’ को लागि उक्त नक्कली नोट बनाइएको र सुटिङ युनिटका केही श्रमजीवी व्यक्तिबाट क्षणिक स्वार्थका लागि नक्कली नोट प्रयोग गरिएको विज्ञप्तिमा उल्लेख छ।

नोटमै सिनेमा प्रयोजनका लागि भनी लिखित रुपमा स्पष्ट रुपमा खुलाइएको भन्दै विज्ञप्तिमा उनलाई अविलम्ब रिहा गर्न माग गरिएको छ।

यसैबीच चङ्गा चेट फिल्मका निर्देशक दीपेन्द्र के खनालले पनि वाग्लेको साथबाट बरामद रकम आफ्नै फिल्मको सुटिङका लागि बनाएको भन्दै सत्यतथ्य जानकारी गराउन बिहीबा बिहान साढे ११ बजे पत्रकार सम्मेलन गर्ने भएका छन्।

निर्माता एवम् वितरक समेत रहेका वाग्लेको कोठाबाटमात्रै २ करोड ५२ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले आज ६ जनालाई नक्कली रुपैयाँसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा निर्माता वाग्लेसँगै महेन्द्र बोगटी, सुजित तामाङ, दिकेश नापित र प्रकाश सुवेदी रहेका छन्।

उनीहरुले नक्कली नोट होटल/रेस्टुराँको बिल तिर्दा, यौन बजारमा तथा लागू औषध दुर्व्यसनका क्षेत्रमा प्रयोग गर्दै आएको परिसरका एसएसपी विश्वराज पोखरेलले बताए।

बैँक लुटे पनि प्रहरीले पक्राउ गर्न असफल हुने कथामा रहेको हिट फिल्म ‘लुट’ का निर्माता वाग्ले नै हुन्। फिल्म वितरक हुँदै फिल्म निर्माण कम्पनी बनाएर निर्माता बनेका उनको फिल्म निर्माणका लागि प्रिन्सेज मुभिज र वितरणका लागि पपकर्न पिक्चर्स छ।

आठ वर्षअघि ‘फर्स्ट लभ’ फिल्मबाट निर्माणमा होमिएका वाग्लेले छड्के, मिसन पैसा रिलोडेड, रेशम फिलिली, लभ शाशा लुट २ फिल्म बनाएका थिए।

आफूले बनाएका फिल्ममा वाग्ले अतिथि कलाकारका रुपमा समेत देखिँदै आएका छन्।

सोसियल मिडियामा सेयर गर्नुहोस !
Loading...