बडादशैंको सातौं दिन आज फूलपाती

बडादशैंको सातौं दिन आज फूलपाती

३० आश्विन २०७५ काठमाडौँ : आश्विन शुक्ल सप्तमीका दिन शनिबार आआफ्नो मूलघरमा फूलपाती भित्र्याइँदैछ । बडा दसैँका बेला घटस्थापना गरी नवदुर्गाको स्तुति गरिएको स्थानमा फूलपाती भित्र्याउने प्रचलन छ । उखुको बोट, केराको पात, अदुवाको बोट, सामा, मेथे वनस्पति र नौ जात र नौ प्रकारका फूलसहितको फूलपाती भित्र्याउने चलन छ । हनुमानढोका दरबारस्थित दसैँघरमा शनिबार ४ः३० बजेको साइतमा फूलपाती भित्र्याइँदैछ ।

परम्परा अनुसार मगर, नेवार र समरजङ्ग कम्पनीका भिखु चौधरीसहितको एक टोली फूलपाती लिन धादिङको जीवनपुर गएको छ । शनिबार नै फौजी निकायको कोतघरमा फूलपाती भित्र्याइँदैछ ।

नेपाली सेनाले टुँडिखेलमा फूलपातीको बढाइँ गरेपछि दसैँघरमा फूलपाती पर्सने प्रचलन छ । यसैगरी हनुमानढोका दरबारको कडेल्चोक भगवतीमा फूलपाती भित्र्याउने गरी फूलपाती लिन एक टोली गोलढुङ्गास्थित पुरानो गुह्येश्वरी गएको छ । नुवाकोटबाट पुरानो गुह्येश्वरी हुँदै हनुमानढोका ल्याइने यो फूलपातीलाई धोबीचौरमा सेनाको टुकडीले बढाइँ गरी भित्र्याउने चलन छ । पुजारी अनुसार नुवाकोटबाट ल्याइने यो फूलपाती विशिष्ट महत्त्वको छ ।

सोसियल मिडियामा सेयर गर्नुहोस !
Loading...