नेपाल-भारतबीच कार्यान्वयन हुन नसकेका सम्झौता खारेज गर्नुपर्छ: परराष्ट्रमन्त्री

कश्मीर घटनाक्रमलाई नेपालले नजिकबाट नियालिरहेको छ-परराष्ट्रमन्त्री ज्ञवाली

नेपाल-भारतबीच कार्यान्वयन हुन नसकेका सम्झौता खारेज गर्नुपर्छ: परराष्ट्रमन्त्री

२९ साउन २०७६ काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र भारतबीच थाती रहेका र कार्यान्वयन हुन नसकेका सम्झौता खारेज गरी नयाँ शिराबाट अघि बढ्नुपर्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित ‘नेपाल–भारत सम्बन्धको भविष्य र सम्भावना’ विषयक अन्र्तक्रियामा बोल्दै मन्त्री ज्ञवालीले सम्झौता भएको दशकौंसम्म कार्यान्वयनमा जान नसकेका सम्झौता खारेज गर्नुमा दुवै देशको हित रहेको बताउनुभएको हो ।

‘दशकौं हुँदा पनि केही सम्झौताहरु कार्यान्वयनमा जानुको साटो उल्टो तनावको विषय बन्न गइरहेका छन्,’ परराष्ट्रमन्त्री ज्ञवालीले भन्नुभयो, ‘अब त्यस्ता सम्झौतालाई कि कार्यान्वयन गरौं कि पन्छाऔं ।’ पञ्चेश्वर परियोजना, कर्णाली जलविद्युत आयोजनालगायतका सम्झौतातर्फ संकेत गर्दै उहाँले कार्यान्वयन या खारेजीको विकल्प रोजेर बढ्नुमा दुवै देशको हित हुने बताउनुभयो ।

आयोजित उक्त अन्र्तक्रियामा परराष्ट्रमन्त्री ज्ञवालीले भारतले नेपालका लागि उदारभाव देखाउनुपर्ने बताउनुभयो । नेपाल विश्व महाशक्ति या क्षेत्रीय शक्ति पनि नभएको र बन्ने महत्वाकांक्षा पनि नराखेको बताउँदै भन्नुभयो, ‘हामी समृद्धिको उद्देश्य बोकेर अगाडि बढ्न चाहन्छौं, त्यसका लागि भारतले उदारताका साथ साथ देओस् ।’

भारतबाट लगानीको अपेक्षा गरिएको र त्यसले भारतको पनि हित गर्ने बताउनुभयो । नेपाल र भारतबीच व्यापार घाटा बढिरहँदा नेपाललाई ठूलो नोक्शानी परिरहँदा भारतबाट नेपालमा उद्योग सञ्चालनमा लगानी हुन सके घाटाको समस्या समाधान हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘दुवै देशलाई लाभ हुनेगरी विन विनको अवस्थामा जानुपर्छ ।’

नेपाल भारतबीच संस्कृति जनताले जर्गेना गर्दै आएको उल्लेख गर्दै अबका दिनमा आर्थिक सम्बन्ध मजबुत र साझेदारसहितको हुनुपर्नेमा जोड दिनुभयो । नेपालमात्र भारतसँग निर्भर नभएर भारत पनि नेपालसँग निर्भर रहेको व्याख्या गर्दै एक अर्काबीचको निर्भरतालाई मनन गरेर आपसी हितमा बढ्नुपर्ने बताउनुभयो ।

त्यसका लागि आवश्यक परे विगतका सन्धी सम्झौता परिवर्तन या परिमार्जनको विकल्पमा जोड दिनुभयो । दुई देशबीच आर्थिक सम्बन्धलाई प्रगाढ बनाउने गरी पूर्वाधार निर्माणले गति लिएको बताउनुभयो । मोतिहारी अमलेखगञ्ज पाइपलाइन उद्घाटन हुनगइरहेको, हुलाकी राजमार्गको दुईवटा खण्ड उद्घाटन हुनलागेको र वीराटनगर जोगवनी चेकप्वाइन्ट सुुरु हुन गइरहेको, आन्तरिक जलमार्ग सूचारु गर्ने तयारी भइरहेको भन्दै आर्थिक सम्बन्ध मजबुत बनाउने दिशातर्फ द्विपक्षीय सम्बन्ध बढेको बताउनुभयो ।

मन्त्री ज्ञवालीले भारतको ७३ औं स्वतन्त्रता दिवसको बधाई दिदै भारत लोकतन्त्रमा पनि सुदृढ र सबल सरकार निर्माण हुन्छ र विकासले गति लिनसक्छ भन्ने उदाहरण भएको बताउनुभयो । भारतबाट विश्वले सिक्ने विषय रहेको भन्दै उसको आर्थिक वृद्धि र सबल लोकतन्त्रबाट नेपालले पनि सिकिरहेको बताउनुभयो ।

भारतको प्रगतिबाट नेपाल खुशी हुने भन्दै भारत पनि नेपालको प्रगतिबाट खुसी भएकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘बलियो र समृद्ध नेपाल भारतका लागि लाभदायक हो र भारतले यसलाई आत्मसाथ गरेकोमा धन्यवाद व्यक्त गर्दछु ।’

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...