दैलेखमा भेटियो उत्खनन गर्न मिल्ने पेट्रोलियम पदार्थ

दैलेखमा भेटियो उत्खनन गर्न मिल्ने पेट्रोलियम पदार्थ

२९ माघ २०७६ काठमाडौँ : दैलेख क्षेत्रमा उत्खनन योग्य पेट्रोलियम पदार्थ रहेको पुष्टि भएको छ । विगत चार महिनादेखि सुरु गरिएको अन्वेषणले सो क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको पुष्टि भएको पेट्रोलियम अन्वेषण परियोजनाले जनाएको छ ।

परियोजनाका प्रमुख सुधीर रजौरेले पेट्रोलियम अन्वेषण तथा प्रवद्र्धन परियोजनाले पछिल्लो समय गरेका भौगर्भिक तथा अन्वेषणको परिणामले यस क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको सुनिश्चित भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दैलेख क्षेत्रमा पाइएको कच्चा तेल र निरन्तर बलिरहेको ग्यासले सो क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको सम्भावना यसअघि नै प्रबल थियो तर अहिले भइरहेको अध्ययन र अन्वेषणले सो सम्भावनालाई सुनिश्चितता प्रदान गरेको छ ।”

उहाँले भन्नुभयो, “दैलेख क्षेत्रमा पेट्रोलियम पदार्थ रहेकोमा अब कुनै शङ्का गर्ने ठाउँ रहेनन्, अबको खोज, अध्ययन र अनुसन्धान पेट्रोलियम पदार्थको परिमाण र क्षेत्रका लागि मात्र हो ।” अहिलेसम्मको परिणामले यस क्षेत्रमा थप काम गर्न उत्साहित बनाएको उहाँले बताउनुभयो ।

पेट्रोलियम पदार्थको क्षेत्र र परिमाण’bout थाहा पाउन ‘ड्रिलिङ’ गर्ने उपयुक्त ठाउँको खोजीका लागि अहिले ‘साइस्मिक सर्वे’ र ‘म्याग्नेटु टेल्रिक सर्वे’ भइरहेको बताउँदै उहाँले अहिलेसम्म ‘साइस्मिक सर्वे’को काम ७० प्रतिशत र ‘म्याग्नेटु टेल्रिक सर्वे’को काम शतप्रतिशत सम्पन्न भइसकेको जानकारी दिनुभयो ।

अबको तीन हप्तामा ‘साइस्मिक सर्वे’को काम पनि सम्पन्न हुने उहाँले बताउनुभयो । पेट्रोलियम पदार्थको परिमाण र क्षेत्र (पेट्रोलियम रिजर्भ वायर) पत्ता लगाउनका लागि सो क्षेत्रमा साढे चार किलोमिटर गहिराइसम्म ‘ड्रिलिङ’ गरिने जानकारी उहाँले दिनुभयो । उहाँले भन्नुभयो, “साइस्मिक सर्वे’मा जमिनमा भूकम्पन्न उत्पन्न गरी कम्पन सेन्सर यन्त्रको रेकर्डमार्फत जमिनमुनिको बनावट थाहा पाइन्छ र ‘ड्रिलिङ’ गरिने उपयुक्त ठाउँको पत्ता लगाइन्छ ।”

उहाँका अनुसार ‘साइस्मिक सर्वे’को काम सम्पन्न भइसकेपछि सो सर्वेको विश्लेषण र व्याख्या गरी ‘ड्रिलिङ’ गरिने उपयुक्त ठाउँको पत्ता लगाइन्छ र भेटिएको पेट्रोलियम पदार्थ आर्थिक तथा व्यापारिक दृष्टिकोणले उत्खननयोग्य भए÷नभएको यकीन हुनेछ । तिहारपछि ‘ड्रिलिङ’को काम सुरु गरिनेछ, ‘ड्रिलिङ’ गर्न तीनदेखि चार महिनासम्मको समय लाग्न सक्नेछ । ‘ड्रिलिङ’का लागि आवश्यक उपकरण चीनबाट जुनदेखि आउने क्रम सुरु हुने उहाँले बताउनुभयो । ‘ड्रिलिङ’को आकार एक मिटर वृत्ताकारको हुनेछ ।

सन् २०१६ मा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपालमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि नेपाल र चीनबीच प्रारम्भिक सम्झौता भएको थियो भने सोही सम्झौताअनुसार चिनियाँ प्राविधिक टोली सन् २०१६ को मेमा नेपाल आएर दैलेख, सुर्खेत, बुटवल, पाल्पा, सुनसरीको बराह क्षेत्र र मोरङको भाउन्नेमा प्रारम्भिक अध्ययन गरेको थियो ।

उक्त प्रारम्भिक अध्ययनपछि चिनियाँ टोली स्वदेश फर्केपछि नेपालमा पेट्रोलियम पदार्थको खोज अन्वेषणका लागि चीनले नेपाललाई दुई अर्ब रुपियाँ सहयोगको घोषणासमेत गरेको थियो । सोही घोषणाअनुसार २३ अगस्ट, २०१७ मा सो सहयोगसम्बन्धी सम्झौतामा नेपाल सरकार, अर्थ मन्त्रालय र चीन सरकारबीच हस्ताक्षर भएको थियो । सोही सम्झौताअनुसार नै अहिले चाइना जिओलोजिकल सेन्टर, बेइजिङ र चेन्दुङका १९ सदस्यीय चिनियाँ प्राविधिक टोली नेपाल आएका हुन् ।

यसअघि विश्व बैङ्कको सहयोगमा २०३५ र २०३६ सालमा चुरे क्षेत्रको ४८ हजार वर्गकिलोमिटर क्षेत्रफलमा हवाई चुम्बकीय सर्वेक्षण गरिएको थियो । त्यसपछि ‘पेट्रोलियम अन्वेषण प्रवद्र्धन परियोजना’ स्थापना गरी तराई चुरे भूभागलाई दस अन्वेषण खण्डमा विभाजन गरिएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ