गच्छदारलाई मुद्दा लगाएर ठीक गर्‍यो भन्छन जनता: कांग्रेस सांसद - Nepali Online News Nepal

गच्छदारलाई मुद्दा लगाएर ठीक गर्‍यो भन्छन जनता: कांग्रेस सांसद

गच्छदारलाई मुद्दा लगाएर ठीक गर्‍यो भन्छन जनता: कांग्रेस सांसद

२८ माघ २०७६ पोखरा : प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका गण्डकी प्रदेशसभा सांसद कुमार खड्काले ललिता निवास जग्गा प्रकरणमा नेता बिजयकुमार गच्छदारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेकामा ठीक गर्‍यो भन्ने जनआवाज रहेको बताएका छन् । गच्छदारको बिगत देखिनै सार्वजनिक छवि त्यति स्वच्छ खालको नभएको सांसद खड्काको भनाइ थियो ।

नेपाली कांग्रेसले गच्छदारहरुलाई बचाउन आन्दोलन गर्‍यो भन्ने गलत रहेको खड्काले बताए । मंगलबार गण्डकी प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै कांग्रेस सांसद गच्छदारलाई शंकाको घेरामा राखिए पनि चन्द्रदेव जोशीको हकमा अन्याय भएको खड्काले बताए ।

सांसद खड्काले भने ‘निष्ठाको राजनीति गर्ने, अभावमा बाँचेको तर सिद्धान्तका लागि सम्झौता नगर्ने वामपन्थी नेता, ७ लाखको मुठा नदेखेकालाई ७ करोड भन्दा बढीको बिगोसहित मुद्दा लगाउनु गलत छ । बदनियतपूर्ण छ, षडयन्त्रपूर्ण छ भन्ने जनआवाज छ ।’

‘एउटा सत्य के हो भने गच्छेदारको सार्वजनिक छवि त्यति सफा छैन, सकारात्मक छैन । जहिले पनि आर्थिक अनुशासनको विषयमा उनलाई शंकाको घेरामा राख्ने गरेको पाइन्छ । उनीमाथि मुद्दा चलाएको ठीक छ भन्ने जनआवाज छ,’ संसद बैठकमा खड्काले भने ।

खड्काले पूर्वमन्त्री चन्द्रदेव जोशीको सार्वजनिक छवि निश्कलंक भएको भन्दै मुद्दा लाग्नु षड्यन्त्र भएको बताए । उनले भने ‘निष्ठाको राजनीति गर्ने, अभावमा बाँचेको तर सिद्धान्तका लागि सम्झौता नगर्ने वामपन्थी नेता, ७ लाखको मुठा नदेखेकालाई ७ करोड भन्दा बढीको बिगोसहित मुद्दा लगाउनु गलत छ । बदनियतपूर्ण छ, षडयन्त्रपूर्ण छ भन्ने जनआवाज छ ।’

सांसद खड्काले कांग्रेसले गच्छदारको मुद्दा फिर्ता गर, सफाइ देऊ भनेर नभनेको पनि जिकिर गरे । तर, सत्ता र शक्तिको आडमा न्यायको घाँटी रेट्ने काम भएको खड्काले बताएका छन् ।

‘भूमाफियाबाट उक्त जग्गा डाइरेक्ट विष्णु पौडेलको नाममा नआई स्वामित्व हस्तान्तरण हुँदै आएकाले भूमाफियासँग उनको अनैतिक सम्बन्ध कसरी भयो भन्ने तर्क पनि सुन्नमा आइरहेको छ । यो भन्दा ठूलो छल कपट राष्ट्र र जनताका निम्ति के हुन सक्छ,’ खड्काले भने ।

नेता पौडेल अगाडि सरेर प्रधानमन्त्री माधवकुमार नेपालसँगको साँठगाँठ गरेर निर्णय गरिएको खड्काले आरोप लगाएका छन् । खड्काले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा महासचिव विष्णु पौडेल, पूर्वमुख्यसचिव लीलामणि पौडेल, सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीलगायत ललिता निवास प्रकरणमा जोडिएका सबैलाई कानूनको कठघरामा ल्याउन माग गरे ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ