ओली संविधान बिरोधि : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध संसदमा अविश्वास प्रस्ताव पेस गरेका छन् । संसदमा बोल्दै माओवादी अध्यक्ष प्रचण्डले एमाले सँग भएको भद्र सहमती कार्यान्वयन नभएको तथा संयुक्त सरकार गठनका बेला भएका सहमती पालना नगरेकै कारण अविश्वासको प्रस्ताव पेस गर्नुपरेको बताए । उनले प्रधानमन्त्री ओलीसँग अहिले पनि व्यक्तिगत रुपमा कुनै कटुता नभएको प्रष्ट्याए ।

प्रधानमन्त्रीमा केपी ओलीलाई निर्वाचित गरियो भन्दै ९ महिना अघि स‌ंसदकाे रोष्टममा उभिएका प्रचण्डले आज ओलीलाई प्रधानमन्त्रीबाट हटाइयोस् भनेर अविश्वासको प्रस्ताव पेश गरे । प्रधानमन्त्रीले यो संयुक्त सरकार हो र केही प्रतिवद्धतासहित सरकार बनेको भन्ने बिर्सिएको आरोप लगाए । प्रधानमन्त्रीमा दम्भ र अहंकार देखिएको भन्दै माओवादी अध्यक्ष प्रचण्डले अघि भने, ‘प्रधानमन्त्री माओवादीलाई उपयोग गर्ने, भर्‍याङ बनाउने र उसलाई सिध्याउन लाग्नु भो ।’ सामान्य मतभेद हुनासाथ कसैको राष्ट्रप्रतिको निष्ठामा प्रश्न उठाउने प्रयास भएको भन्दै उनले कसैको देशभक्तिमाथि प्रश्न उठाउनु विडम्वनापूर्ण भएको बताए ।

प्रचण्डले एमाले अध्यक्ष ओलीमाथि सबैलाई प्रभोग गर्ने र आन्तरिक राष्ट्रिय एकता कमजोर पार्नतर्फ लागेको आरोप लगाएका छन् । प्रधानमन्त्रीले संघीयता आफूलाई मन परेको छैन भनेको भन्दै अघि भने, ‘गणतन्त्रमा त केही भन्दिन । तर, साह्रै रुची लागेको जस्तो लागेको छैन । राजतन्त्र चाहिन्छ भन्नेसँग लगन गाँठो कसिएको देखिन्छ ।’ नौबुँदे सहमति र तीनबुँदे भद्र सहमतिबारे ओलीको सार्वजनिक टिप्पणीले पनि सम्वन्ध विग्रिएको उनले बताए । यो गठवन्धन तोड्ने आफ्नो इच्छा नभएको र पार्टी एकतासम्म छलफल भएको उनले सदनमा सुनाए । तर, सरकारमा गएपछि त्यसलाई बिर्सिएका प्रधानमन्त्रीले अन्तिम चरणको छलफलमा आफूलाई ‘या त तपाई एक्सन लिनुस्, या म लिन्छु, यसरी चल्दैन’ भनेको उनले बताए ।

उनले भने, ‘सभामुख महोदय विषय प्रतिकात्मक जस्तो पनि छ, गम्भीर छ ।’ प्रस्ताव पेश गर्दै प्रचण्डले भने, ‘मैले त्यति बेला भनेको थिएँ कि राजनीति सम्भावनाहरु खेल हो । आज पनि भन्छु कि राजनीति भनेको सम्भावनाको खेल हो ।’अविश्वास प्रस्ताव प्रस्तुत् गर्दै प्रचण्डले संविधान, शान्तिप्रक्रियालगायतका विषयमा नेकपा एमाले र प्रधानमन्त्री ओलीसँग गम्भीर मतभेद रहेको महसुस भएर सरकारबाट फिर्ता हुनुपरेको तर्क गरे । प्रधानमन्त्री ओलीले सरकार बनाउँदाका वाचा बिर्सेको र माओवादीलाई प्रयोग गर्दै जाने नियत देखिएको आरोपसमेत लगाए ।

प्रधानमन्त्री ओली एकल सरकारको ढंगले चलेको र सबैलाई समेटेर अघि बढ्न नखोजेको प्रचण्डको आरोप थियो । प्रचण्डले प्रधानमन्त्री ओली गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीलगायतका परिवर्तनबाट पनि विमुख हुन थालेको आरोप पनि लगाए । यसअघि सरकारले संसदमा पेस गरेको आर्थिक, राष्ट्र ऋण उठाउने र ऋण तथा जमानत एक्काइसौं संशोधन गरी तीन वटै विधेयक बहुमतबाट अस्विकृत भएको छ । सत्ता समिकरण फेरिएको प्रभाव उक्त विधेयकहरुमाथि परेको हो ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...