३३ किलो सुन प्रकरण : चर्चित रेस्टुरेन्ट ‘बाजेको सेकुवा’का सञ्चालक पनि छानबिनमा

४ बैशाख २०७५ काठमाडौं : ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याको अनुसन्धानमा चर्चित चेन रेस्टुरेन्ट ‘बाजेको सेकुवा’का सञ्चालक पनि छानबिनको दायरामा परेका छन । रेस्टुरेन्टका सञ्चालक चेतन भण्डारी प्रहरीको छानबिनमा तानिएका हुन् । सुन तस्करीमा लगानी गरेको आशंकामा प्रहरीले भण्डारीको सम्पत्ति र राष्ट्रबैंकलाई बैंक खाता रोक्का राख्न पत्राचार गरेको छ।

भण्डारी सो गिरोहका नाइके चुणामणि उप्रेती ‘गोरे’का आफन्त हुन्। स्रोतका अनुसार भण्डारी उप्रेतीका भान्जा नाता पर्छन् ।

विमानस्थलबाट तस्करीको ३३ किलो सुन घटनाको अनुसन्धानका क्रममा तस्करीको गिरोहमा भण्डारीको समेत संलग्नताको प्रमाणहरु भेटिएको प्रहरी स्रोतले जनाएको छ। सो समूहले विगत ५ वर्षयता विमानस्थलमा सेटिङ मिलाई ठूलो मात्रामा सुन तस्करी गर्दै आएको थियो ।

बाजेको सेकुवा रेस्टुरेन्टका सञ्चालकको पनि त्यसमा साझेदारी रहेको स्रोतले जनाएको छ । भण्डारी तस्करीमा प्रत्यक्ष रुपमा संलग्न नभई उप्रेतीलाई तस्करीका लागि लगानी गरेको अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले बताए ।

सनम हत्या तथा तस्करीमा संलग्न २० जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। तस्करीमा संलग्न नेपाल एयरलाइन्सका लोडर प्रेमलाल चौधरीले पक्राउ परेलगत्तै प्रहरी हिरासतमै आत्महत्या गरिसकेको छन् ।

तस्करीको ३३ किलो सुन काठमाडौंबाट विराटनगर लैजाने क्रममा गत माघमा हराएको थियो । सुन लुकाउनेहरुसँग मिलेको आशंकामा शाक्यलाई नियन्त्रणमा लिई सोही गिरोहका व्यक्तिहरुले कुरा खोल्न करेन्ट लगाउने क्रममा मृत्यु भएपछि चारकोशे झाँडीमा शव लुकाउन लैजाँदै गर्दा फागुन १९ मा महानगरीय प्रहरी अपराध महाशाखा, काठमाडौंबाट खटिएको टोलीले गाडिभित्रै शव बरामद गरी मोहन काफ्ले, नरेन्द्र कार्की र टेकराज मल्ल ठकुरीलाई पक्राउ गरेको थियो । हत्या गरिएका शाक्य सोही समूहमा एकाउन्टेन्टका रुपमा कार्यरत थिए ।

छानबिन गर्ने क्रममा विमानस्थलबाट लामो समयदेखि संगठित रुपमा सुन तस्करी हुँदै आएको रहस्य समेत खुलेको छ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...