इन्डियन प्रिमियर लिग : आइपिएलमा कोलकाताको शानदार जित

४ वैशाख २०७५ कोलकाता : कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा सोमबार दिल्ली डेयर डेभिल्सलाई ७१ रनले पराजित गरेको छ । कोलकातामा चौथो खेलमा यो दोस्रो जित हो । चौथो खेलमा दिल्लीको भने यो तेस्रो हार हो । दिल्लीका नेपाली बलर सन्दीप लामिछानेले टोलीको चौथो खेलमा पनि मौका पाएनन् ।

२ सय १ रनको लक्ष्य पछ्याएको दिल्लीले १४.२ ओभरमा सबै विकेट गुमाएर १ सय २९ रन बनाएको थियो । दिल्लीलाई लक्ष्यमा पुग्न दिनबाट सुनिल नारिन र कुलदीप यादवले समान ३ विकेट लिए । त्यस्तै पियुष चावला, आन्द्रे रसेल, शिवम माभी र टम कुरानले समान १ विकेट लिए ।

दिल्लीका लागि ग्लेन म्याक्सवेल र रिसव पन्तले दोहोरो अंकमा रन जोडे । म्याक्सवेलले ४७ र रिसवले ४३ रन बटुले । २२ बल खेलेका म्याक्सवेलले ४ छक्का र ३ चौका प्रहार गरे । रिसवले ७ चौका र १ छक्का प्रहार गरे ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाता नाइट राइडर्सले सामूहिक प्रदर्शनमा निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २ सय रन बनाएको थियो । नितेश रानाले अर्धशतक पुरा गरे । त्यस्तै रसेलले ४१, रविन उथप्पाले ३५, क्रिस लेनले ३१ र दीनेश कात्र्तिकले १९ रन जोडे ।

नितेशले ३५ बलमा ५ चौका र ४ चौकासहित ५९ रन बनाए । रसेलले १२ बलमा ६ चौका प्रहार गरे । उथप्पाले १९ बल खेल्दै ३ छक्का र २ चौका प्रहार गरे । दिल्लीका राहुल टिवाटियाले ३, ट्रेन्ट बोल्ट र क्रिस मोरिसले समान २ विकेट लिएका थिए । आइपिएलमा मुम्बई इन्डियन्स र रोयल च्यालेन्सर्ज बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...