प्रधानमन्त्रीको भारत भ्रमण ‘कोसेढुङ्गा’

Loading...

३ वैशाख २०७५ काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीको नयाँ दिल्ली भ्रमण नेपाल–भारत सम्बन्धमा कोसेढुङ्गा साबित भएको विश्लेषण गरिएको छ । भारतका थिङ्कट्याङ्क, नागरिक समाजका अगुवा तथा पत्रकारले प्रधानमन्त्री ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीसँग तुलना गर्दै दुई देशको सम्बन्धले अब नयाँ उचाइ लिने विश्वास समेत व्यक्त गर्नुभएको छ ।

व्यवहार र कुशलताको हिसाबले मोदी र ओली उस्तै रहेको सन्देशका समाचार पनि भारतमा सम्प्रेण भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘सबका साथ सबका विकास’ र प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले समृद्ध नेपाल र खुसी नेपाली’को नारा दिनु भएको छ ।

इन्डिया फाउन्डेसनका निर्देशक आलोक वंसलले प्रधानमन्त्री ओलीको दिल्ली भ्रमण दुई देशको सम्बन्धमा ‘कोसेढुङ्गा’ भएको टिप्पणी गर्नुभयो । उहाँले नेपाल–भारतको सम्बन्धलाई अरू देशसँगको सम्बन्धसँग तुलना गर्न नसकिने स्पष्ट गर्नुभयो । उहाँले नेपालका प्रधानमन्त्री ओलीले भ्रमण गरेर भारतको मन जितेको दाबी समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाल–भारतबीच ‘रोटीबेटी’को सम्बन्ध छ । यो एउटा परिवार जस्तो हो, यसलाई केही समयका लागि भ्रमित गर्न सकिन्छ तर अलग गर्न सकिँदैन ।

’ ‘सन् २०१५ मा केही तत्वले दुई देशलाई भ्रमित गर्ने प्रयास गरेको दाबी गर्दै उहाँले भन्नुभयो, त्यसले दुई देशको सम्बन्धमा केही उतार चढाव भयो तर समयमै सम्हालियो पनि । नाकाबन्दी सम्झँदै उहाँले भन्नुभयो, ‘सन् २०१५ को घटना (नकाबन्दी)मा भारतको कुनै भूमिका थिएन त्यो एउटा परिघटना मात्र थियो । ’

इन्डिया फाउन्डेसन भारत सरकारलाई परोक्ष रूपमा सल्लाह सुझाव दिने संस्था हो । यसले दुई देशबीचको सम्बन्ध, आतङ्कवाद र सुरक्षा लगायते विषयमा अध्ययन अनुसन्धान गर्छ । यस संस्थामा मन्त्री पनि निर्देशकको रूपमा रहनुभएको छ भने भारतीय सरकारको नेतृत्व गरेका भारतीय जनता पार्टीका महासचिव राम माधव पनि यसका निर्देशक हुनुहुन्छ । भारत भ्रमणमा रहेको बेला प्रधानमन्त्री ओलीलाई यो फाउन्डेसनले नागरिक अभिन्दन गरेको थियो ।
मधेसमा आन्दोलन चलिरहँदा भारत सरकारलाई नेपालको बारेमा गलत रिर्पोटिङ गरेको इन्डिया फाउन्डेसनको बुझाइ छ ।

दिल्लीस्थित आफ्नै कार्यालयमा गोरखापत्रसँग कुरा गर्दै वंशलले भन्नुभयो, नेपालका प्रधानमन्त्री ओलीलाई हाम्रा देशका प्रधानमन्त्री मोदीले पटक पटक फोन गर्नु, विदेशमन्त्री सुष्मा स्वराजलाई पठाएर ओलीसँग विशेष संवाद गराउनु भनेको भारतले नेपालसँग विशेष सम्बन्ध राख्न चाहेको प्रष्ट हुन्छ । ’
नेपाल–भारत सम्बन्धका जानकार एवम् भारतीय सरकारको थिङ्कट्याङ्कमध्येका एक डा. निहार नायकले नेपालका प्रधानमन्त्री ओलीको भारत भ्रमण ऐतिहासिक भएको टिप्पणी गर्नुभयो ।

यसअघि भारत भ्रमणमा आउनुभएका प्रधानमन्त्रीलाई विमानस्थलमा स्वागत गर्न विदेश राज्यमन्त्री पठाइन्थ्यो तर यसपटक गृहमन्त्री राजनाथ सिंह प्रधानमन्त्री अ‍ोलीलाई स्वागत गर्न विमानस्थल पुग्नुभएको थियो । यहाँ प्रधानमन्त्री ओलीलाई भारतले दिएको विशेष सम्मान थियो, नायकको भनाइ छ ।
भारतले नेपालसँग ‘कनेक्टीभिटी’ बढाउनका लागि पानी जहाज सञ्चालनका साथै भारतबाट सिधै काठमाडौसम्म रेल लैजाने सम्झौता पनि गरेको छ । त्यस्तै पेट्रोलियम पाइपलाइनको पनि सम्झौता भएको छ, यसले आर्थिक समृद्धिसँगै दुई देशबीचको सम्बन्धमा पनि ठूलो फड्को मारेको उहाँले दावी गर्नुभयो ।

भारतीय रक्षाका लागि अध्ययन अनुसन्धन गर्ने संस्था (आइडीएस)का अनुसन्धानकर्ता समेत रहनु भएका डा. नायकले यो भ्रमणले दुई देशबीच रहेका सम्पूर्ण तिक्तता समाप्त भएको दाबी गर्नुभयो ।
मधेस आन्दोलन ‘भावनामा भएको आन्दोलन’ भएको बताउँदै उहाँले मधेसवादी दलले सविधानलाई स्वीकार गरिसकेपछि मधेसमा खासै समस्या नरहेको टिप्पणी गर्नुभयो ।

आउने दिनमा नेपाल–भारतबीच हुने सम्झौता कार्यान्वयनमा विशेष जोड दिनुपर्ने भन्दै उहाँले आर्थिक समृद्धिका लागि एक अर्का देशको सहयोग चाहिने बताउनुभयो । दैनिक जागरणका सम्पादक समेत रहिसक्नुभएका पत्रकार आशुतोष शुक्लाले नेपाल–भारतको सम्बन्धलाई राजनीतिक आँखाले मात्र हेर्न नहुने बताउनुभयो । नेपाल–भारतबीच समाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक, पारिवारिक सम्बन्ध पनि रहेको चर्चा गर्दै उहाँले विभिन्न शक्ति केन्द्रले दुर्ई देशको बीचमा खेलेर सम्बन्ध बिगार्ने प्रयास गरेको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...