सर्दै एमाले माओवादी एकता

Loading...

३ बैशाख २०७५ काठमाडौँ : आवश्यक तयारी पूरा नभएपछि नेकपा (एमाले) र नेकपा माओवादी (केन्द्र) बीच वैशाख ९ गते हुने भनिएको एकतामा ढिलाइ हुने देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको दिल्ली भ्रमणअघि नै पार्टी एकता गर्ने भनिए पनि त्यति बेला तयारी नपुगेको भन्दै वैशाख ९ लाई सारिएको थियो ।

एकताका लागि गठन भएका दुइटा कार्यदलले आ–आफ्नो प्रतिवेदन एकता संयोजन समितिलाई बुझाइसकेका छन् । प्रधानमन्त्री ओलीको भारत भ्रमणअघि प्रतिवेदन बुझेपछि दुई दलका नेताहरूले वैशाख ९ गते पार्टी एकता हुने जानकारी दिनु भएको थियो । भारत भ्रमणबाट फर्केपछि एकता संयोजन समितिको बैठक राखेर एकता प्रक्रियालाई अन्तिम रूप दिन दुई अध्यक्ष बीचमा समझदारी भएको थियो । एमाले अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओली भारत भ्रमण सकेर फकिएको एक साता वित्दा समेत संयोजन समितिको बैठक बस्न सकेको छैन ।

चैत २८ गतेलाई तय गरिएको बैठक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिरामी भएपछि स्थगित गरिएको थियो । पार्टी एकताका लागि केही विवादस्पद विषयमा छलफल गरी टुग्यांउन बाँकी छ ।

माओवादी केन्द्रले पार्टी विधानको प्रस्तावनामा नै ‘जनयुद्ध’ शब्द राख्नु पर्ने अडान लिएको छ । त्यस्तै एमालेले एकीकृत पार्टीको चुनाव चिन्ह् सूर्य हुनुपर्ने अडान राखेको छ । माअ‍ोवादी केन्द्रले सूर्यलाई चुनाव चिन्ह् स्वीकार गर्ने पक्षमा देखिए पनि केन्द्रीय समितिमा बाराबरको हैसियत हुनुपर्ने दाबी गर्न थालेको छ ।
एकताकै विषय लिएर आइबार अध्यक्ष प्रचण्डलाई भेट्नु भएका माओवादी केन्द्रका नेता मणि थापाले एकीकरणका लागि थुप्रै प्राविधिक विषय मिलाउनुपर्ने र त्यसका लागि समय चाहिने भन्दै वैशाख ९ गते एकता घोषणा हुनेमा आशङ्का व्यक्त गर्नुभयो । ढिलोचाँडो एकीकरण हुने कुरामा आफू विश्वस्त रहेको बताउँदै उहाँले पछिल्लो समय दुई पार्टीबीच अविश्वासको वतावरण सिर्जना भएको दावी पनि गर्नुभयो ।

प्रधानमन्त्री ओलीले एकलौटी ढङ्गबाट सरकार सञ्चालन गर्नुभएको, सचिव सरुवा गर्दा माओवादी केन्द्रसँग कुनै सल्लाह नगर्नुभएको, भारत भ्रमणमा जाँदा पनि माओवादी पार्टीसँग कुनै सरसल्लाह नगर्नुभएका कारणले दुई पार्टीबीचमा अविश्वास बढेको उहाँको भनाइ छ ।

प्रधानमन्त्री ओली र माओवादी केन्द्रबीच आइतबार एकताका विषयमा छलफल गर्ने तयारी थियो । तर अध्यक्ष प्रचण्ड छलफल छाडेर अचानक आरामका लागि भन्दै सिन्धुपाल्चोक पुग्नुभएको छ ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले अहिलेसम्मको तयारी अनुसार वैशाख ९ गते पार्टी एकता हुने बताउनुभयो । एकीकरणको विषयमा अन्तिम रूपमा दिन दुई जना अध्यक्षलाई जिम्मेवारी दिएको र उहाँहरूबीचमा कुराकानी चलिरहेको नेता नेम्वाङले बताउनुभयो ।

एमालेका अर्का नेता बेदुराम भुसालले दुई दलको बीचमा रहेका असमझदारीहरू मिलाउन गृहकार्य भइरहेको बताउनुभयो । आइतबार नै माओवादी केन्द्र निकट वाईसीएलले अध्यक्ष प्रचण्डलाई एक ज्ञापनपत्र बुझाउँदै बराबर हैसियत तथा जनयुद्धको सम्मान हुने गरी पार्टी एकता गर्न दबाब दिएको छ ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...