किम जोङ उनलाइ भेट्न चिनियाँ नेता प्योङयाङमा

२ बैशाख २०७५ सोल : उत्तर कोरियाका नेता किम जोङ उनसँग चिनियाँ कम्युनिष्ट पार्टीका एकजना वरिष्ठ नेताले राजधानी प्योङयाङमा भेटवार्ता गरेका छन् । उत्तर कोरियाको राजधानी प्योङयाङमा पुगेका चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ ताओ नेतृत्वको टोलीले उनसँग भेटवार्ता गरेको हो ।

उक्त उच्चस्तरीय भेटका क्रममा दुई देशको आपसी सम्बन्धलाई अझ बलियो र ससक्त बनाउने बारेमा छलफल भएको उत्तर कोरियाली समाचार समिति, केसिएनएले जनाएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले केही हप्ता अगाडि चीनको अप्रत्याशीत भ्रमण गरी राष्ट्रपति सी चिनफिङसँग पनि भेटवार्ता गरेका थिए ।

उनीहरूको भेटवार्ताको विषयलाई लिएर अमेरिका लगायतका देशहरूले चासो व्यक्त गरेका थिए भने विश्वभर नै चर्चाको विषय बनेको थियो। पछिल्लो समयमा उत्तर कोरिया अन्तर्राष्ट्रिय सम्बन्ध विकासको काममा केही उदार देखिएको छ ।

आणविक क्षेप्यास्त्रको बारम्बार परीक्षणका कारण विश्व समुदायबाट अलग्गिएको उत्तर कोरिया यतिखेर भने भेटवार्ताको कूटनीतिमा अग्रसर भएको देखिएको चर्चा शुरु भएको छ ।

केहि समय अघि किम प्राइभेट रेल मार्फत चीन पुगेका थिए र चाइनिज समकक्षि संग भेट बार्ता गरेका थिए ।

गत महिना अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले वार्ता गर्ने किमको प्रस्तावमा सहमति दिएका थिए ।

किमले प्योङयाङ पुगेको दक्षिण कोरियाली प्रतिनिधि मण्डलसँग कुरा गर्दै ट्रम्पसँग वार्ता गर्ने इच्छा व्यक्त गरेका थिए ।

किम र ट्रम्पबीच छिटै वार्ता हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...