टोमहक अमेरिकी मिसाइलको क्षमता | विश्वघटना

Loading...

२ बैशाख २०७५ काठमाडौँ : अमेरिकाले सिरियामा एकपटक फेरि आक्रमण गरेको छ र यसपटक पनि टोमहक मिसाइलको प्रयोग गरिँदै छ । टोमहक मिसाइल अमेरिकी शस्त्र प्रणालीको त्यो अचुक मिसाइल हो, जसलाई उसले पछिल्ला २० वर्षदेखि उपयोग गर्दै आएको छ । अमेरिका जब–जब आफ्नो टार्गेटमा एक सुरक्षित दूरीमा बसेर अचुक आक्रमण गर्न चाहन्छ, तब–तब यही टोमहक मिसाइल उपयोग गर्ने गरिन्छ ।

सिरियामा चरमपन्थी संगठनका अड्डामा अमेरिकाले पहिले पनि हवाई आक्रमण गरेको छ । तर, २०१७ मा पहिलोपटक सिरियामा अमेरिकाले सीधा कारबाही गरेको थियो । यी आक्रमण सिरियाली सरकारको हितविरुद्ध गरिएका थिए । सिरियामा २०११ देखि नै गृहयुद्ध जारी छ ।

अचुक निसाना, लामो दूरी

आखिर यो टोमहक मिसाइल के हो र अमेरिका किन यसैमा निर्भर छ त ? पाँच मिटर लामो, करिब डेढ हजार किलो तौल भएको यो मिसाइलले लामो दूरीसम्म मार हान्न सक्छ । यो मिसाइलले चार सय ५४ किलो तौलको विस्फोटक पदार्थ बोक्न सक्छ ।

टोमहक मिसाइल आठ सय ८५ किलोमिटर प्रतिघन्टाको गतिमा १६ सय किलोमिटरसम्मको दूरीमा रहेको आफ्नो लक्ष्य भेदन गर्न सक्छ । तर, द वासिङ्टन पोस्टले रक्षा विश्लेषक क्रिस हार्मरलाई उल्लेख गर्दै लेखेको छ– टोमहक मिसाइलको विस्फोटक क्षमता अन्य मिसाइलभदा कम छ । नेभी अफिसर रहिसकेका हार्मरका अनुसार जब जमिनमा हवाई बमवर्षा गर्नुपर्ने हुन्छ, तब यी विषयले त्यति धेरै मान्यता राख्दैनन् ।

खाडी युद्धको जमानादेखि

यो मिसाइलले जिपिएस टेक्नोलोजीमा आधारित भई काम गर्छ । निश्चय नै टोमहक मिसाइल पनि चुक्न सक्छ । तर, यो लक्ष्यबाट १० मिटरभन्दा बढी टाढा जाँदैन । अमेरिकाको रेडियन कम्पनीले टोमहक मिसाइल निर्माण गर्छ । कम्पनीको दाबीअनुसार टोमहक संसारकै सबैभन्दा अत्याधुनिक क्रुज मिसाइल हो । भनिन्छ, टोमहक मिसाइलको निर्माण दुई हजारभन्दा पनि बढी पटक उपयोग गरिसकिएको छ । र, पाँच सयभन्दा बढीपटक यसको परीक्षण गरिसकिएको छ ।

टोमहक मिसाइलको एउटा लामो इतिहास छ । ९० को दशकमा खाडी युद्धको जमानादेखि टोमहक मिसाइल अमेरिकी शस्त्रागारको एक अहं हतियार रहँदै आएको छ । त्यतिखेर अमेरिकी नेतृत्वमा पश्चिमी देशहरूको गठबन्धनले इराकमाथि सैनिक कारबाही गरेको थियो र अपरेसन डेजर्ट स्टर्म नामको कारबाही सञ्चालन गरेको थियो ।

गद्दाफीविरुद्ध पनि टोमहक

इराकमा मात्र होइन, लिबियामा पनि टोमहक मिसाइलको उपयोग गरिसकिएको छ । २०११ मा जब कर्नेल गद्दाफीको शासनविरुद्ध नेटो देशहरूले कारबाही गरेका थिए, त्यतिखेर पनि टोमहक मिसाइल निकै उपयोगी साबित भएको थियो । अमेरिकाले टोमहक मिसाइलको उपयोग २०१४ मा आफूलाई इस्लामिक स्टेट बताउने चरमपन्थी संगठनविरुद्ध पनि गरेको थियो । आइएसविरुद्धको यो आक्रमण सिरियामा गरिएको थियो । त्यतिखेर फारसको खाडी र लाल सागरमा उपस्थित दुई जहाजबाट ४७ टोमहक मिसाइल प्रहार गरिएको थियो ।

लिबिया र सिरियापछि यमनमा तीन राडार अड्डा नष्ट गर्नका लागि पनि टोमहक मिसाइल उपयोग गरिएको थियो । २०१७ मा पूर्वी भूमध्यसागरमा उपस्थित दुई युद्धक जहाजबाट अमेरिकाले सिरियाको एक हवाई अड्डामा ५९ टोमहक मिसाइल प्रहार गरेको थियो । बिबिसी

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...