डिपिएल क्रिकेट : काठमाडौँलाइ हराउदै धनगढीले जित्यो उपाधि , ट्रफीसँगै हात पार्‍यो २५ लाख

Loading...

३० चैत २०७४ धनगढी : धनगढी प्रिमियर लिग(डिपिएल क्रिकेट) को उपाधि घरेलु टोली टिम चौराहा धनगढीले जितेको छ। उसले काठमाडौं गोल्डेन्स्लाई २१ रनले पराजित गरेको हो। जितसँगै धनगढीले २५ लाख रुपैयाँ नगद पुरस्कारसहित ट्रफी जितेको छ।

सुनिल धमला र रोहन मुस्तफाले अर्धशतक बनाएपछि उपाधिका लागि धनगढीले काठमाडौंलाई १ सय ८२ रनको लक्ष दिएको थियाे। तर काठमाडौं ८ विकेटको क्षतिमा मात्र १ सय ६० रनमा सिमित हुन पुग्यो।

उसका लागि प्रारम्भिक ब्याट्सम्यान अमित श्रेष्ठले सर्वाधिक ५८ रनको पारी खेले। उनले ७ चौका र ३ छक्का हिर्काए। बलिङतर्फ २ विकेट लिएपनि अमितसँगै ब्याटिङ गर्न आएका सुबोथ भाटी ब्याटिङमा भने चल्न सकेनन्। उनी ५ रनको व्यक्तिगत स्कोरमा पेवेलियन फर्किए।

ठूलो लक्ष्य पछ्याएको काठमाडौंका लागि मध्यक्रमका ब्याट्सम्यानले ठूलो आकारको साझेदारी गर्न सकेनन्। कप्तान ज्ञानेन्द्र मल्लले ३०, सन्नी पटेलले २२, नरेश बुढाएरले १९, पुष्प थापाले १५ रन बनाए। टिमको स्कोर १ सय ५५ रन बनाएको अवस्थामा पाचौँ विकेट गुमाएको काठमाडौंले बाँकि ४ रन जोड्दा ३ विकेट गुमाएको थियो।

बलिङतर्फ धनगढीका ललित भण्डारीले सर्वाधिक ३ विकेट हात पारे। रोहन मुस्तफाले काठमाडौंका २ खेलाडीलाई आउट गर्दा सम्सेद शेख र योगेन्द्र सिंह कार्कीले समान १/१ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेकाे धनगढीले निर्धारित २० ओभरको खेलमा ४ विकेटको क्षतिमा १ सय ८१ रन बनाएको थियो।

टिमको स्कोर १२ रन रहेको अवस्थामा धनगढीले अस्फाक अहमदको रुपमा पहिलो विकेट गुमाएको थियो। तर तेस्रो नम्बरमा मैदान छिरेका रोहन मुस्तफाले प्रारम्भिक ब्याट्सम्यान सुनिल धमलालाई राम्रो साथ दिँदै दोस्रो विकेटका लागि १ सय ४२ रनको साझेदारी गरे। जारी प्रतियोगितामा कुनै पनि विकेटका लागि यो सबैभन्दा ठुलो रनको साझेदारी हो।

खेल सकिन ४ बल बाँकि रहँदा आउट भएका सुनिलले ६३ बलमा सर्वाधिक ७८ रनको योगदान दिएका थिए। उनको पारीमा ८ चौका र ३ छक्का सामेल थियो। उता मुस्तफाले भने समान ४ चौका र ४ छक्काको मदतले ६० रन जोडे।

सोमपाल कामी ८ रन र राजेश पुलामी मगर शून्य रनमा नटआउट रहे।

काठमाडौंका लागि सुबोथ भाटीले २ विकेट हात पारे। अठारौं ओभरको पहिलो बलमा मुस्तफालाई रन आउट गराएका भाटीले सोहि ओभरको तेस्रो बलमा नै सोनु तामाङ(शून्य रन)लाई बोल्ड गर्दै पेवेलियनको बाटो देखाए। भाटीले नै धमलालाई अन्तिम ओभरमा नरेश बुढाएरको हातबाट क्याच आउट गराएका थिए। काठमाडौंका लागि पहिलो विकेट सन्नी पटेलको नाममा रह्यो।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...