गित गाउन नमानेपछि पाकिस्तानमा गायिकाको गोलि हानि हत्या

Loading...

३० चैत २०७४ कराँची : पारिवारिक सांगीतिक कार्यक्रममा गोली चल्दा पाकिस्तानमा गर्भवती रहेकी एक गायीकाको मृत्यु भएको छ। मंगलबार सिन्ध प्रान्तको कंगामा भइरहेको एक पारिवारिक कार्यक्रमको सिलसिलामा गोली चल्दा २८ वर्षीय गायीका समिरा सिन्धुको मृत्यु भएको छ।

कार्यक्रम चलिरहेको समयमा घटना कसरी घट्यो भन्ने यकिन नभएको प्रहरीले जनाएको छ। सिन्धुका परिवार तथा संगीतकर्मीहरुले भने उनको हत्या भएको भन्दै हत्यारालाई कारबाहीको माग गरेका छन्।

कार्यक्रममा एक व्यक्तिले सिन्धुलाई पेस्तोल तेर्साउँदै गीत गाउन आग्रह गरेको तर उनले आफु गर्भवती भएकोले गीत गाउन नसक्ने भनेपछि ती व्यक्तिले हवाई फायरिङ गर्दा उनलाई गोली लाग्न गएको बताइएको छ।

सिन्धु ८ महिनाकी गर्भवती थिइन्।

उता सिन्धुका श्रीमान आशिक सामोले भने गीत नगाउने भनेपछि उनीमाथि नियोजित रुपमै गोली प्रहार गरिएको भन्दै प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन्।

घटनामा संलग्न रहेको भन्दै एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अदालतअघि अभियुक्त तारिक जतोइले पारिवारिक कार्यक्रममा खुशियालीका क्रममा हवाइ फायर गरेको र संयोगवश गायीकामाथि गोल लाग्न पुगेको बताएका थिए। उनलाई पूर्पक्षका लागि थुनामा राखिएको छ।

सिन्धुका आफन्तहरुले घटनामा संलग्न रहेका अन्य २ व्यक्तिलाई पनि पक्राउ गर्न माग गरेका छन्।

सामाजिक सञ्जालमा राखिएको भिडियोमा भने गायीका सिन्धुमाथि कसैले पनि दबाब दिएको स्पष्ट रुपमा देखिएको छैन। भिडियोमा वाद्यवाधकहरुको बीचमा सिन्धु बसिरहेको र सोही अवस्थामा ३ व्यक्तिहरु मञ्चमा उक्लिएर स्थानीय चलनअनुसार पैसा फ्याकेका थिए। त्यसपछि आफ्नो स्थानमा उठेर सिन्धुले गीत गाउन सुरु गरेपछि तीन व्यक्तिहरु मञ्चबाट झरेका थिए। मञ्चबाट ती व्याक्तिहरु बाहिर आउने बित्तिकै ३ राउण्ड गोली चलेको र गीत गाइरेहकी सिन्धु ढलेको भिडियोमा देख्न सकिन्छ।

सिन्धुलाई स्थानीय गायीकाको रुपमा लिइन्छ। उनले सिन्धी लोकसंगीत तथा सुफी संगीतका ८ एल्बम निकालेकी छन्। पाकिस्तानमा पारिवारिक कार्यक्रममा गायकगायीकाहरुले गाउने चलन सामान्य मानिन्छ। उनी पनि यस्तै पारिवारिक कार्यक्रममार्फत धेरैमाझ चर्चित थिइन्।

अदालतले गायीका सिन्धुको पोष्टमार्टम रिपोर्ट तथा अभियुक्त जतोइको रगतमा अल्कोहलको मात्रा परिक्षण गरिएको रिपोर्ट पेश गर्न भनेको छ। पाकिस्तानमा मुस्लिम समुदायमा रक्सी सेवन गर्न निषेध गरिएको छ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...