चीन र अष्ट्रेलियाबीचको सम्बन्धमा किन विवादित बन्दैछ ?

Loading...

३० चैत्र २०७४ :अष्ट्रेलिया र चीनबीचको कूटनीतिक सम्बन्धमा पछिल्लो केही महिनादेखि विभिन्न समस्या देखा परिरहेको छ । बिहीबार संचारकर्मीहरुले अष्ट्रेलियाका मन्त्रीहरुको भिसा चीनले रद्द गराएको सम्बन्धी प्रश्न गर्दा प्रधानमन्त्री माल्कोम टर्नबीलले पनि चीनसँगको बिग्रँदो सम्बन्धबारे स्वीकार गरेका हुन् ।

गतवर्षको डिसेम्बरमा टर्नबिलको सरकारले अष्ट्रेलियाको सुरक्षा व्यवस्था र निर्वाचन प्रक्रियालाई कडा बनाउने उद्देश्यले विदेशी राजनीतिक लगानीमाथि प्रतिबन्ध लगाउने बताएको थियो । त्यसअघि धेरैपटक अष्ट्रेलियाको राजनीतिमा चीनको प्रभाव रहेको आरोप लगाइएपछि टर्नबिलको सरकारले सो विधेयक प्रस्ताव गरेको थियो ।

यसपछि संचारकर्मीसँग बोल्दै टर्नबिलले अष्ट्रेलियनलाई चीन भित्रिन नदिइएको खबर गलत रहेको बताएका हुन् तरपनि दुई देशबीचको सम्बन्ध भने ठीक अवस्थामा नरहेको उनले स्वीकारेका छन् ।
सांसदले नयाँ नियम लागू गरेदेखि नै चीनसँगको सम्बन्ध बिग्रदै गइरहेको उनले बताएका हुन् । चीन अष्ट्रेलियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । अष्ट्रेलियाले सबैभन्दा बढी निर्यात गर्ने देश पनि चीन नै रहेकाले यसअघि दुईबीचको कूटनीतिक सम्बन्ध धेरै प्रभावकारी देखिँदै आएको थियो ।

तरपनि अष्ट्रेलियाको राजनीतिक प्रणालीमा अष्ट्रेलियनको मात्र प्रभाव रहेको सुनिश्चित गराउन र विदेशी हस्तक्षेप रोक्न सो नियम जरुरी भएको टर्नबिलले बताए । तर सो नियम चीनलाई नै भनेर लक्षित भने नगरिएको उनले स्पष्ट पारेका हुन् ।
वास्तवमा चिनियाँ–अष्ट्रेलियन व्यवसायीसँग नजिकको सम्बन्ध राख्दै आएका विपक्षी सिनेटर सेम डास्ट्यारीले सांसदको सो विधेयकको विरोध गर्दै पदबाट राजीनामा दिएका थिए ।

यसै घटनापछि अष्ट्रेलियाको राजनीतिमा चीनको गहिरो प्रभाव रहेको खबर बाहिर आएको हो । ती व्यवसायीले चीन र अष्ट्रेलिया दुवै देशमा राजनीतिक पार्टीहरुलाई ठूलो आर्थिक सहयोग प्रदान गर्दै आएका छन् । त्यसकारण विपक्षी नेताहरुले भने सांसदको सो कदमलाई ‘एन्टि चाइना’ अर्थात् चीन विरुद्धको भन्ने उल्लेख गरेका हुन् । चिनियाँ संचार माध्यमले पनि अष्ट्रेलियाको सो निर्णयप्रति निराशाजनक प्रतिक्रिया दिएको थियो । त्यसैगरी राजनीतिमा हस्तक्षेप गरेको आरोपलाई भने चीनले गैरजिम्मेवारीपूर्ण बताएको छ ।

त्यसैगरी अमेरिकाको संगतमा लागेर केहि समयअघि देखि अष्ट्रेलियाले चीनको दक्षिणी समुद्रतर्फको सैन्य गतिविधिमा समेत विशेष चासो राख्न थालेको छ । यसप्रति पनि चीनले लगातार आपत्ति जनाइरहेको छ । गत साता मात्र अष्ट्रेलियाको संचारले बेइजिङले भानुआटुकोे सरकारसँग स्थायी सैन्य क्षेत्र स्थापनाका लागि वार्ता गरिरहेको खबर प्रकाशन गरेको थियो । भानुआटु र चीन दुवैले सो जानकारी गलत भएको ठहर गरेका हुन् । यो घटनाले फेरि पनि चीन अष्ट्रेलियासँग आक्रोशित भएको थियो । आफ्नो देशको आन्तरिक मामिलामा गलत हल्ला फैलाएको आरोप लगाउँदै चीनले अष्ट्रेलियन मिडियाको कडा आलोचना गरेको थियो ।
एजेन्सी

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...