वार्ताको विषयमा यसपटक किम साँच्चै गम्भीर छन् !

Loading...

३० चैत्र २०७४ काठमाडौँ :‘उत्तर कोरियाली नेता किम जोङ उन समाचार रिपोर्टमा देखाइने व्यक्तिभन्दा धेरै नै फरक छन्,’ गतमहिना प्योङयोङमै आयोजित सांगीतिक कार्यक्रममा नेता किमसँगै बसेर दक्षिणका कलाकारको प्रस्तुती हेरेका संस्कृति मन्त्रीले सीएनएनसँग बताएका हुन् ।

दक्षिणका मन्त्री डु जोङ ह्वानले सीएनएनलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘उनले खेलकुददेखि लिएर संगीत र संस्कृति जस्ता सबै विषयमा सामान्य ढङ्गले कुरा गरे ।’ प्योङयोङमा भएको सो कार्यक्रममा उनी नेता किम र उनकी पत्नी रि सोल्जुकै नजिक बसेका थिए । किमले उपस्थित दर्शकलाई हात हल्लाउँदै ताली बजाएर उत्साह व्यक्त गर्दा समेत मन्त्री डु किमसँग कुरा गरिरहेको देखिएका थिए ।

यसरी १० वर्षपछि उत्तर कोरियाली शासकले दक्षिणको प्रस्तुती हेरी त्यस प्रकारको प्रतिक्रिया दिनु आफ्ना लागि असामान्य घटना रहेको उनले बताए ।

उत्तर कोरियाले यसअघि प्रतिबन्ध लगाएको दक्षिण कोरियाको पप गीतको प्रस्तुती किम आफैँले हेर्नुले पनि अहिले दक्षिण र उत्तर कोरियाबीचको सम्बन्धमा धेरै सुधार भइसकेको संकेत दिएको छ । यसका साथै महिनाको अन्त्यमा किम र दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनबीचको बैठकको तयारी पनि तीव्र गतिमा अघि बढिरहेको छ ।

त्यसकारण यसपटक वार्ताको विषयमा किम साँच्चिकै गम्भीर रहेकाले पनि दक्षिण कोरिया आगामी बैठकबाट धेरै आशावादी रहेको डुले बताएका हुन् ।

उनले भने, ‘कार्यक्रमको अन्त्यमा किमले दुवै बैठक सफल भइसकेपछि यस प्रकारको कार्यक्रम सिओलमै आयोजना गर्न प्रस्ताव गरेका थिए । यस भनाइले पनि उनको वार्ता सफल पार्ने मनस्थिति रहेको संकेत दिएको छ ।’

वर्षौँसम्म कूटनीतिक सम्बन्ध बिना नै शाषन गरिरहेका किमले पछिल्ला केही महिनामा शान्ति प्रक्रियाकै लागि भनेर आफ्नो नीति विपरित धेरै कदम उठाइसकेका छन् ।

दक्षिण कोरियासँग प्रत्यक्ष सम्पर्कको श्रोत खुलाएर मित्रताको हात अघि बढाएका किमले त्यसपछिको ओलम्पिकमा समेत शान्तिपूर्ण ढङ्गले उत्तर कोरियालाई सहभागी गराए । यसै क्रममा उत्तर कोरियाले दक्षिणसँग एकै झण्डामुनि एकसाथ परेड खेलेर नयाँ इतिहास रच्न सफल भयो ।

यसपछि पहिलो विदेश भ्रमणका क्रममा चीन पुगि किमले कोरियाली प्रायद्विपलाई हतियार मुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेर सबैलाई अचम्मित पारेका हुन् । त्यसैगरी महिनौसम्म धम्कीपूर्ण सन्देश आदानप्रदान गरेपछि पनि किमले आफ्ना सबैभन्दा ठूला विपक्षी, ट्रम्पसँग वार्ताको मिति तय गरेका हुन् ।

यसरी किमले केही महिनामै कूटनीतिक नीतिमा ठूलो परिवर्तन ल्याएर अन्तराष्ट्रि समुदायसँग नयाँ सम्बन्धको सुरुवात गर्ने तयारी गरिरहेका छन् । त्यसैले पनि उनको उद्देश्यमा यसपटक धेरै इमान्दारीता देखिएकोे दक्षिण कोरियाको दाबी छ ।एजेन्सी

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...