दुर्घटना अपडेटः यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुग्यो, २० घाइते

Loading...

२९ फागुन २०७४ काठमाडौँ : काठमाडौँ स्थित त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलमा सोमबार भएको यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुगेको गृह मन्त्रालयले पुष्टि गरेको छ । ढाकाबाट काठमाडौं आएको यूएस बंगलाको विमान २८ फागुनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । उक्त विमानमा चालकदलका ४ जना सदस्यसहित ७१ जना सवार थिए ।

गृह मन्त्रालयका अनुसार विमानमा सवार चालक दलका सदस्यसहित ५१ जनाको मृत्यु भएको छ । मृत्युहुनेहरुमा २२ जना नेपाली, २८ जना बंगलादेशी र एक चिनियाँ नागरिक रहेका छन् । दुर्घटनामा घाइते अन्य २० जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । विमानमा चारजना चालक दलका सदस्यसहित ७१ सवार थिए ।

यता त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रशासनले दुर्घटनाग्रस्त यूएस बंगलाको विमान कन्ट्रोल रुमको आदेश विपरित ल्याण्ड भएको बताएको छ ।

प्रारम्भीक उद्दार सकिए लगतै २८ गतेनै पत्रकार सम्मेलन गरेर विमानस्थल प्रमुख राजेन्द्र क्षेत्रीले कन्ट्रोल रुपमा साउथबाट ल्याण्ड गर्न अनुमति दिएको बताए । तर, पाइलटले उत्तरतिर गएर केहीबेर उड्यो र त्यतैबाट ल्याण्ड गर्छु भन्यो ।’

त्यसपछि ल्याण्ड गर्ने क्रममा पज डाउन गरेको र त्यसक्रममा स्किड भएको क्षेत्रीले बताए ।

सोमबार दुर्घटनामा परेको यूएस बंगला विमानको अवस्थाका बारेमा जानकारी लिन बंगलादेश सरकारको उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल मंगलबार काठमाडौं आइपुगेको छ ।

बंगलादेशका नागरिक उड्डयन मन्त्री एकेएम शाहजान कमल र परराष्ट्र राज्यमन्त्री शाहरिर अलाम तथा नागरिक उड्डयन प्राधिकरण, बंगलादेशका उच्च अधिकारीसहितको टोली नेपाल आएको हो ।

उच्चस्तरीय सरकारी टोली यूएस बंगला विमान दुर्घटनाबारे जानकारी लिन नेपाल आएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिए ।

यसअघि सोमबार विमान दुर्घटनापछि लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशका प्रधानमन्त्री शेख हसिनासँग टेलिफोन संवाद गरी विमान दुर्घटनाबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...