भारतले हटायो अनुमति बिना निर्माण गरेका पुल, सीमामा नेपाली सेनाको गस्ती सुरु

Loading...

२९ फागनु २०७४ दार्चुला । भारतले  नेपाल भारत सीमामा पर्ने महकाली नदीमा नेपालको अनुमति बिनानिर्माण गरेको ४ वटा अस्थायी काठेपुल मध्ये २ वटा हटाएको छ । जिल्लाका व्यास गाउँपालिका २ राप्ला क्षेत्रका ४ ठाउँमा नेपाल भारत जोड्ने अस्थायी काठे पुलमध्ये २ वटा पुल हटाएको निमित्त प्रहरी प्रमुख इन्स्पेक्टर लालबहादुर साउदले बताए ।

राप्लाको घाटिबगड र भारतको मालपा जोड्ने अस्थायी काठेपुल र नेपालको दोपाखे र भारतको छनकन जोड्ने अर्को काठेपुल पनि भारतीय पक्षले हटाएको प्रहरीको जनाएको छ ।

यसअघि फागुन २१ गते भारतको पिथौरागढमा बसेको नेपाल भारतका सुरक्षा अधिकारीको बैठकमा नेपाली पक्षले पुल हटाउनुपर्ने बताएपछि भारतले हटाएको अनुमान गरिएको छ ।

भारतले नेपालको अनुमति विना सीमा नदी महाकालीमा निर्माण गरेको ४ वटा अस्थायी काठेपुलमध्ये २ वटामात्रै हटाएको छ भने २ वटा कायमै छ । तम्बाकु र नजंग भन्ने ठाउँमा निर्माण गरिएको २ वटा काठेपुल भने हटाइएको छैन ।

सेनाकाे गस्ती

महाकाली नदीमाथि भारतले अनुमति विना अस्थायी काठेपुल निर्माण, नेपाली भूमिमा झण्डै डेढ सय मिटर सडक निर्माण, २ किलोमिटर गोरेटो बाटो निर्माण गरेको खरब सार्वजनिक भएपछि नेपाली सेनाको टोली त्यसतर्फ गएको छ ।

जिल्ला सदरमुकाम खलंगामा रहेको नेपाली सेनाको दुर्गादल गुल्मबाट ५० जना सैनिक टोली भारतले काठेपुल निर्माण गरेको दार्चुलाको उत्तर पुर्वी सीमा क्षेत्रतिर गस्तीमा गएको छ ।

सेनाले सीमा क्षेत्रका गतिविधि, अवस्था र त्यस क्षेत्र स्थानीयहरुको सुरक्षा अवस्था लगायतलाई मध्यनजर गर्दै नेपाली सेनाको टोलीले झण्डै ३ हप्ता सीमा क्षेत्रमा गस्ती गर्ने छ ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...